सोमवार, पौष २ २०८०
पुस, २ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्यालय सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा विश्व रेकर्ड कायम गरेको छ। बिश्वबिद्यालयले ४९औं दिक्षान्त समारोहको अवसरमा दशरथ रंगशालामा गरेको भब्य कार्यक्रममा सबैभन्दा धेरै सङ्ख्यामा विद्यार्थी तथा अभिभावकको उपस्थित भएको भन्दै आधिकारिक वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई प्रमाणपत्र प्रदान गरेको हो।

यस पटक विश्वविद्यालयबाट कुल ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुने योग्य थिए। जसमध्ये समारोहमा कुल १२ हजार ४ सय १५ विद्यार्थी र तिनका १३ हजार ७ सय अभिभावक गरी कुल २६ हजार एक सय १६को उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको त्रिविका निमित्त उपकुलपति प्रा.डा शिवलाल भुसालले जनाए।
दीक्षान्त समारोहमा ६१ औं गे्रस लिस्ट अनुसार २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट प्राप्त गरेका ७३ हजार ७ सय ४९ जना विद्यार्थी समावेश हुन योग्य भएपनि दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी सहभागी भएका थिए । सारोहमा सहभागी विद्यार्थीहरुमा कृषि र पशुविज्ञान अध्ययन संस्थानका १ सय ६४, वनविज्ञान अध्ययन संस्थानका ५१, इन्जिनियरिङ्ग अध्ययन संस्थानका ९ सय ५९, चिकित्साशास्त्र अध्ययन संस्थानका १ हजार ६ सय १९, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका १ हजार २ सय १५, मानविकी तथा सामाजिकशास्त्र संकायका २ हजार २ सय ४८, व्यवस्थापन संकायका ४ हजार ८ सय ७०, कानुन संकायका २ सय ३८ र शिक्षाशास्त्र संकायका १ हजार १० विद्यार्थी रहेका छन् ।
४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रुपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरुको अहम् भूमिका रहने र प्राकृतिक स्रोतमा मात्र निर्भर नभई मानवीय ज्ञान, सीप र प्रविधिको विकास गरी मुुलुकका लागि उपलब्धिमुलक, प्रभावकारी र जीवनउपयोगी उच्चशिक्षा उपलब्ध गराउन त्रिविले समयसापेक्ष, बजारमुखी र विश्वप्रतिस्पर्धी शिक्षा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यस्तै दीक्षान्तलाई सम्वोधन गर्नुहुदै प्रधानमन्त्री तथा त्रिविका कुलपति पुुष्पकमल दाहाल 'प्रचण्ड'ले त्रिविले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुुधारका प्रयासहरु महत्वपूर्ण रहेको बताउनुभयो । आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व प्रतिस्पर्धाका चुनौतीहरु सम्बोधन गर्न नसकिने, त्यसका लागि गुणात्मक सुधारको इच्छाशक्ति र सङकल्प जरुरी रहेको साथै त्यस दिशमा विश्वविद्यालयलाई थप मेहनत गर्न अनुरोध गर्नुभयो।
मुलुकको राजनीतिक र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश व्यक्तिहरु त्रिभुवन विश्वविद्यालयकै उत्पादन भएको स्मरण गराउँदै आगामी दिनमा समेत उक्त विरासत कायम राख्दै थप सफलताका निम्ति क्रियाशील हुन निर्देशित गर्नुुभयो । शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिको लागि हुनपर्ने र आर्थिक हैसियत भएकाहरुले मात्रै उच्चशिक्षामा पहुँच हुुन नहुने र शिक्षा प्राप्त गर्ने अवसर सवैलाई हुनुपर्ने बताउनुभयो।

मुलुकको समृद्धिका लागी प्रविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहनेभएकोले त्रिविले प्राविधिक शिक्षामा भूमिका बढाउदै लैजानुपर्ने, उपाधि हासिल गरेका आफ्ना विद्यार्थीहरुलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउनुपर्ने, सख्यात्मक बृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षामा केन्द्रीत हुनपर्ने बताउनुभयो। विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौ ? भन्दै प्रधामन्त्री तथा कुलपति दाहालले विगतमा विश्वविद्यालयहरुले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुदै गयो भनेर प्रश्न उठाउनुभयो
विश्वविद्यालयहरुमा क्रियाशिल प्राज्ञहरुको भूमिका किन गुरुत्वपूर्ण हुन सकिरहेको छैन र शैक्षिक क्यालेण्डर लागुहुन नसक्नु, पठनपाठनमा गत्यावरोध आइरहनुमा कसको दोष छ भन्दै विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा हुनु नहुने साथै आगामी दिनमा त्रिविका उपकुलपति दलीय भागवण्डाबाट नभई क्षमताका आधारमा नियुक्त गरिने प्रतिवद्धता जनाउनुभयो।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुसालले दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालयले आर्जन गरेको शैक्षिक तथा प्राज्ञिक सफलता उजागर गर्ने र आफ्ना ग्राजुयटलाई भावी प्राज्ञिक तथा पेशागत जीवनका लागि दीक्षित गर्ने विशेष अवसर रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका सामुन्ने यतिबेला चुनौतीका पहाडहरुका साथै महान अवसर समेत रहेको भन्दै अवसरलाई मूर्त रुप दिन आफुहरु विश्वविद्यालयलाई व्यवस्थित एवम् पारदर्शी बनाउदै सुधारका लागि प्रयत्नशील रहेको बताउनुभयो ।
पठन पाठनमा नियमितता, परीक्षा प्रणालीमा सुधार र पारदर्शीता, राजनीतिक प्रभावको न्यूनीकरण, प्राज्ञिक मर्यादाको संरक्षण र कानुनको पालना जस्ता पक्षमा सबैको ध्यान जानसके विद्यमान चुनौती सहजै समाना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । स्वदेशमा उपयुक्त रोजगारीको अभावका कारण उच्च आकांक्षा बोकेर दीक्षित जनशक्तिहरु विदेश पलायन भइरहेको भन्दै उपकुलपति भुसालले त्रिविले समय र बजारले माग गरेअनुसारका नयाँ विषय र कार्यक्रमहरुको खोजी गरी सञ्चालन गरीरहेको जानकारी गराउनुुभयो।

त्रिविले विश्वका अन्य उत्कृष्ट विश्वविद्यालयहरुसँगको सहकार्यमा नयाँ ज्ञान सृजना र सिपको आदान प्रदान गर्न विदेशी विश्वविद्यालयमा संलग्न नेपाली विद्धानहरुको सञ्जाल तयार गरी सहकार्य गर्ने, नेपाल भित्र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा बैज्ञानिक खोज तथा अनुसन्धान गरी सम्बन्धित निकायहरुलाई समेत बैज्ञानिक नीति निर्माणमा सहयोग पुयाउने र सूचना प्रविधिको विकासले प्रदान गरेका अवसरहरुको उच्चतम उपयोग गर्न साइवर सेक्युरिटीका कार्यक्रम सञ्चालनको तयारीमा रहेको र योग विज्ञान, आयुर्वेद विज्ञान, पर्वतीय पर्यटन लगायतका कार्यक्रमहरु समेत सञ्चालनको तयारीमा रहेको जानकारी गराउनुभयो।

सर्वप्रथम त्रिभुवन विश्वविद्यालयको निमन्त्रणालाई स्वीकार गरी दीक्षान्त समारोहको प्रमुख आतिथ्यता ग्रहण गर्नुका साथै आफ्नो जीवनको अमूल्य अनुभवबाट नवोदित स्नातकहरूलाई दीक्षित गर्न आउनुभएका सम्माननीय राष्ट्रपतिज्यूलाई कुलपतिका हैसियतले हार्दिक स्वागत गर्दछु ।
विश्वविद्यालयको दीक्षान्त समारोहका अवसरमा कुलपतिका हैसियतले उपस्थित भएर सम्बोधन गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । यस अवसरमा आज विश्वविद्यालयका विभिन्न विषय र तहका उपाधि प्राप्त गर्ने सम्पूर्ण विद्यार्थी एवम् आजको समारोहमा उपस्थित हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाइसहित सुखद् र सफल भविष्यको शुभकामना व्यक्त गर्दछु ।
यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान अतुलनीय छ । ऐतिहासिक गरिमा बोकेको विश्वविद्यालयको दीक्षान्त समारोहमा राष्ट्रपतिज्यू उपस्थित हुनुभएकोमा विश्वविद्यालय परिवारको तर्पmबाट यहाँप्रति म हार्दिक आभार प्रकट गर्दछु । यस अवसरमा यस विश्वविद्यालयले नेपाली उच्च शिक्षाको क्षेत्रमा पु¥याएकोे महत्त्वपूर्ण योगदानको मुक्तकण्ठले प्रशंसा गर्दछु । यस अविछिन्न कार्यमा महत्त्वपूर्ण योगदान पु¥याउनुहुने सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विश्वविद्यालयको नेतृत्व लगायतमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
त्रिभुवन विश्वविद्यालयले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास महत्त्वपूर्ण छन्, यद्यपि आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व र प्रतिस्पर्धाका चुनौतीहरू सम्बोधन गर्न सकिँदैन, त्यसका निम्ति गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरूरी छ । यस दिशामा विश्वविद्यालय परिवारले थप मेहेनत गर्नेछ भन्ने विश्वाससमेत व्यक्त गर्दछु । यस अवसरमा मुलुकको राजनीतिक र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश व्यक्तिहरू त्रिभुवन विश्वविद्यालयकै उत्पादन भएको स्मरण गराउँदै आगामी दिनमा समेत उक्त बिरासत कायम राख्दै थप सफलताका निम्ति क्रियाशील हुन निर्देशित पनि गर्दछु ।
शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्दछ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्दछ । त्यसै भएर कतिपय विकसित मुलुकमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ । हामी पनि सोही दिशामा अग्रसर भइरहेका छौँ । आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने हाम्रो प्रष्ट दृष्टिकोण छ । विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ भन्ने मेरो मान्यता छ । यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकुल सुधार गर्दै लैजानुपर्दछ ।
मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्त्वपूर्ण योगदान रहन्छ । हाल त्रिभुवन विश्वविद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै उच्चस्तरीय जनशक्ति उत्पादन गरी देश विकासमा अग्रणी भूमिका खेलेको र आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिका बढाउँदै लैजानुपर्दछ । विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिभुवन विश्वविद्यालयको सामयिक चुनौती हो । सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो । विश्वविद्यालयले यस यथार्थलाई केन्द्रमा राखेर काम गर्नेछ भन्नेमा म विश्वस्त छु । त्रि.वि.को नेतृत्वले विश्वविद्यालयभित्र भौतिक एवम् शैक्षिक सुधार गर्नुका साथै विद्यार्थी कल्याण सम्बन्धी धेरै कार्य गर्दै विश्वमा अन्य प्रतिष्ठित विश्वविद्यालय एवम् शैक्षिक संस्थासँग सहकार्य गरेर विश्वविद्यालयको स्तरोन्नतिमा सुधार ल्याउने प्रयास गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्तरवृद्धिमा संलग्न सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको अथक परिश्रम आवश्यक छ । यसका लागि अभिभावकत्व र सहयोगका निम्ति नेपाल सरकार सधै तत्पर रहेको कुरा यहाँ स्मरण गर्न चाहन्छु ।
एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्वमा विश्वस्तरीय जनशक्ति उत्पादनको प्रतिस्पर्धामा त्रि.वि.ले झेलिरहेको समस्या र नेपाली नागरिकका अपेक्षाबीच असमञ्जस्यको धरातलीय यथार्थता मैले महसुस गरेको छु । भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ । तर, विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ? विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ? एकातर्फ हामी विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कोतर्फ हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ । यस्ता चुनौती र प्रश्नहरूबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ ।
विश्वविद्यालयहरूको वर्तमान अवस्थामा रूपान्तरण गर्न सरकार र राजनीतिक नेतृत्वको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । प्राज्ञिक संस्थाहरूलाई आवश्यक साधनस्रोत र पर्याप्त प्राज्ञिक जनशक्तिको व्यवस्थामा राज्यले पनि आफ्नो भूमिका बढाउनैपर्दछ । यस सन्दर्भमा त्रिभुवन विश्वविद्यालयलाई विश्वस्तरीय उत्कृष्ट शैक्षिक केन्द्रमा रूपान्तरण गर्न सरकारले आफ्नो भूमिका बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्दै अनगिन्ती चुनौतीका बीच पनि संस्थालाई निरन्तर गतिशील बनाउँदै आउनुभएकोमा त्रि.वि.को विगतदेखि वर्तमानसम्मका नेतृत्वसहित प्राज्ञ, कर्मचारी, विद्यार्थी, सम्पूर्ण शुभचिन्तकहरूमा विशेष धन्यवाद व्यक्त गर्दछु ।
प्रिय नवोदित प्राज्ञहरू,
दीक्षित हुनुहुने तपाई विद्यार्थीहरूका निम्ति आज विशेष महत्त्वको दिन हो । आफ्नो जीवन र परिवारको भविष्य निर्माणका साथै देश र जनताको सेवा गर्न सुशिक्षित र सुयोग्य नागरिक बन्ने तपाईहरूको सपना आज साकार भएको छ र तपाईहरूले आफ्ना अभिभावकहरूको सपना पनि पूरा गर्नुभएको छ । तपाईहरूले आर्जन गर्नुभएको शिक्षा, ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बन्ने विश्वासका साथ तपाईहरूको उज्ज्वल भविष्यका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
दीक्षित विद्यार्थीहरूले आफूलाई सचेत र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्यलाई जिम्मेवारीका साथ निभाउनुहुनेछ भन्ने विश्वासका साथ त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको माध्यमद्वारा सक्षम जनशक्ति तयार पार्ने कार्यमा निखार ल्याई विश्वमै अगुवा विश्वविद्यालय बन्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ एवम् संविधानको प्रगतिशील कार्यान्वयनको चरणमा छौँ । यसका लागि संविधानले परिकल्पना गरेबमोजिमका संरचनाहरू तयार पार्ने र तिनलाई युक्तिसंगत हिसाबले गतिशील तुल्याउन आवश्यक छ, ती संरचनाहरूलाई देश र जनताको हित, अग्रगमनको पक्षमा सदुपयोग गर्दै अगाडि बढ्ने कार्यभार हामीसामु छ । यसै यथार्थलाई आत्मसात गर्दै सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको छ ।
यहाँहरूलाई विदितै छ– मेरो तेस्रो कार्यकाल देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, अर्थतन्त्रमा देखिएका चुनौतीहरू सम्बोधन गर्दै देशलाई समृद्धिको मार्गतर्फ अग्रसर गराउन, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्थामा परिवर्तन ल्याउन निरन्तर क्रियाशील छ । करिब १ वर्षको अनवरत मेहेनत र क्रियाशीलताको परिणाम आज अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार हुँदै गएको छ, यद्यपि अपेक्षाकृत परिणाम हासिल गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ । तसर्थ, सरकारको यस इमानदार प्रयासमा यहाँहरूजस्तो बौद्धिक युवा जनसमुदायको रचनात्मक साथ, सहयोग र ऐक्यबद्धता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।
प्रिय दीक्षित विद्यार्थीहरू,
विश्व परिवेशको पृष्ठभूमिमा देशको वर्तमान अवस्था तपाईहरूसामु प्रष्ट छ । आत्मकेन्द्रित हाम्रो चिन्तनलाई ‘‘बहुजन हिताय’’मा बदल्न नसकेसम्म समाज र देशको सामाजिक तथा आर्थिक रूपान्तरण असम्भवप्राय छ भन्ने कुरालाई आत्मसाथ गर्न म आज दीक्षित भई ज्ञान, विज्ञान र प्रविधियुक्त एक सर्जक, चिन्तक र साधकका रूपमा यस औपचारिक विशेष सभाबाट सामाजिक मान्यता पाउनुहुने तपाई नवयुवाहरूलाई अनुरोध गर्दछु र यस विशेष दिनमा फेरि पनि यहाँहरूमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अन्त्यमा, आजको दीक्षान्त समारोहको अवसरमा आफ्नो अमूल्य समय प्रदान गरी समुपस्थित हुनुभएकोमा प्रमुख अतिथिज्यू, त्रि.वि.का सहकुलपति एवम् माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यू एवम् विश्वविद्यालयमा महत्त्वपूर्ण योगदान गर्ने नेतृत्व लगायत सम्पूर्ण अतिथिज्यूहरू, अभिभावकज्यूहरू, विद्यार्थीहरू, सञ्चारकर्मीहरू तथा अन्य सबै सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गर्दै त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोह औपचारिक रूपमा यही समापन भएको घोषणा गर्दछु ।