आइतवार, पौष ८ २०८०
पुस ८ गते काठमाडौ । काठमाडौको नयाँबजारमा अवस्थित मनास्लु पब्लिक माध्यमिक बिद्यालयले नागरिकहरूका कानुनी अधिकार र कर्तब्यकोबारे कानुनी सचेतना कार्यक्रम आयोजना गरेको छ। बिद्यालयले शनिवार एक कार्यक्रमका बीच अभिभावकहरुको लागि कानुनी परामर्श तथा सचेतना कार्यक्रम आयोजना गरेको हो।

कानुनी सचेतना कार्यक्रममा एक सय पचास जना भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कानुन बारे आधारभूत ज्ञान् तथा जानकारी दिन प्रशिक्षकको रुपमा वरिष्ठ अधिवक्ता डा.नारायण घिमिरे, मनास्लुका कार्यकारी निर्देशक जेबि दवाडी, स्कुल कोर्डिनेटर नवराज भट्ट, +२ कोर्डिनेटर नारायण बानियाँ लगाएत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले अभिभावकहरुलाई नागरिकहरूका कानुनी अधिकार र कर्तब्यबारे कानुनी सचेतना गर्नुभयो। उहाँले हरेक नागरिकले देशको संबिधान र कानुन सम्बन्धी सामान्य ज्ञान हासिल गर्नु अनिवार्य रहेको र त्यसकालागी यस्तो किसिमको सचेतना कार्यक्रम देशैभरी जरुरी रहेको बताउनुभयो।

अधिवक्ता घिमिरेले कानुनको अनभिज्ञता क्षम्य नहुने भन्दै हरेक नागरिकले जानकारी राख्नुपर्ने कानुन सम्बन्धी आधारभुत ज्ञान् बारे चर्चा गर्नुभयो । उहाँले मानव अधिकार र नागरिकको अधिकार बीचको फरक, अन्तर्राष्ट्रिय कानुर र राज्यको कानुन बीचको फरक तथा कानुनी राज्य र सुशासन बारे अभिभावकलाई अवगत गराउँदै कानुनको प्रक्रिया बेगर कुनै पनि काम गर्न नहुने कुरा बताउनुभयो।

बिश्वब्यापी रुपमा अनिवार्य लागु हुनुपर्ने अधिकारहरु मानव अधिकार हो। मानव अधिकारलाई कुनै पनि देशले कन्ट्रोल गर्न पाउदैन । तर नागरिक अधिकार (Civil Right) आफ्नो देश भित्र रहने मानिसले पालना गर्नुपर्ने र राज्यले दिने अधिकार हो भन्दै फरक फरक देशमा देशको सामाजिक संरचना र नागरिकको आवस्यकता अनुरुप कानुन बनाइने बताउनुभयो।

त्यसैगरी अधिवक्ता घिमिरेले घरेलु हिंसाबारे अभिभावकहरुलाई सु-सूचित गर्नुभयो । घरेलु हिंसाको प्रकृति र घटनाका प्रकारहरु बारे जानकारी दिँदै कैयौँ अवस्थामा आफैलाई थाहा नभइकन हामी लगाएत हाम्रो बालबालिकाहरु त्यसमा संङ्लग्न हुने गरेको र दु:ख पाउने गरेको बताउँदै त्यस कुराको अनुभुत गरि समाधान गर्न कानुनी सचेतना कार्यक्रमले सघाउ पुर्याउने बिस्वास दिलाउनुभयो।

त्यसैगरी बालबालिका र उमेर पुगेका नागरिकहरुप्रति गर्नहुने र नहुने ब्यबाहारबारे अभिभावकहरु जानकार हुनुपर्ने बताउँदै त्यसबारे उनिहरुलाई कानुनी परामर्श समेत दिनुभयो।
उहाँका अनुसार बालबालिकाले अनजानमै कुनै अपराधमा संङ्लग्न भए १० बर्ष मुनिका बालबालिकालाई मुद्दा नलाइने, साथै १० देखि १४ बर्ष मुनिका बालबालिकालाई ६ महिना भन्दा बढि कैदमा राख्न नमिल्ने, त्यस्तै १४ देखि १६ बर्षमुनिका लाई आधा सजाय र १६ देखि १८बर्ष मुनिका बालबालिकालाई दुई तिहाइ मात्रै सजाय हुने भन्दै यदि जानिजानी अपराध गरेको खण्डमा उनिहरुको अभिभावकहरुलाई समेत कानुन लाग्ने बताउनुभयो।

अधिवक्ता घिमिरेले राज्य र स्थानिय सरकारको काम कर्तव्य बारे बोल्दै स्थानिय सरकार ले के गर्छ?, नागरिक प्रतिको उसको अधिकार के हुन्छ?, संघिय राज्यले के गर्छ र उसको अधिकार के हुन्छ? भन्ने कुरा अभिभावकहरुलाई सचेताना गराउनुभयो। उहाँले निर्वाचित प्रतिनिधिहरुको अधिकार हुँदैन बरु कर्तव्य र दायित्व मात्रै हुन्छ भन्दै कानुन बारे सामान्य पनि जानकार नराखेर जनप्रतिनिधिहरु बोल्नुपर्ने भन्दा बढी बोल्ने गरेको बताउनुभयो। स्थानिय सरकाले नागरिकको सेवा गर्ने कर्तव्य हो। कर्मचारी भनेको नागरिकको सेवा गर्न गएका प्रतिनिधि मात्रै हुन? भन्दै सर्भबौम अधिकार नागरिक संग मात्रै हुने कुरा बताउनुभयो।

आजभोलि सार्वजनिक स्थानहरुमा आम नागरिक तथा युवा विद्यार्थीहरुले गर्नु नहुने कुरा समेत गरिरहेको भन्दै बिशेष गरि सार्वजनिक स्थानमा के गर्न पाउने के नपाउने भन्ने कुराको सचेतना दिनुभयो। त्यसैगरी साइबर कानुन र ब्यक्तिगत गोपनियतको अधिकार बारे अभिभावकहरुलाई बिशेष जानकारी दिनुभयो।
त्यसैगरी उपभोग्ता सम्बन्धी कानुनबारे जानकारी दिदै उपभोक्ताको अधिकार भनेको बजारमा पाइने हरेक सामान तथा खाद्यबस्तुले स्वस्थ्यलाई हानी हुनुहुदैन भन्दै त्यस्तो पाइएको अवस्थामा नागरिकले कानुनी रुपमा अघिबढ्नुपर्ने बताउनुभयो। साथै त्यसबारे नागरिक आफै पनि सचेत भए नागरिक ठगिनबाट बञ्चित हुने बताउनुभयो।

एक अर्को प्रसंगमा संसारभरिको कानुन हेर्दा मुख्यतः दुइटा जग रहेको भन्दै अधिवक्ता घिमिरेले पश्चिमी कानुन (अमेरिका, युरोप लगाएत देशहरु)को जग ब्यक्तिगत स्वतन्त्रतामा बढी जोडदिने कानुन छ र हाम्रो (पुर्वीय/ नेपाल, भारत, जापान चीन लगाएत देशहरु)को कानुनी जग पारिवारिक र सामाजिक एकतामा बढी जोड दिने कानुन छ भन्दै पश्चिममा ब्यक्तिगत स्वतन्त्रता धेरै भएर १८ बर्ष माथिका युवाहरु बाबूआमाबाट टाढिने भएकोले परिवारहरु बिछिप्त हुन पुगेको धारणा ब्यक्त गर्नुभयो। उहाँले भन्नुभयो " त्यसकारण हामिले बोकेको संस्कार हाम्रो कानुनमा स्पष्ट देखिन्छ।"

सचेतना कार्यक्रमको अन्त्यमा अभिभावकहरुको प्रश्नको उत्तर दिँदै अधिवक्ता घिमिरेले संसारभरी लागुहुने अधिकार, संविधान, ऐन र कानुन बारे जानकारि दिँदै आफ्नो भनाइ अन्त्य गर्नुभयो।

उक्त कार्यक्रममा नागरिकहरुले स्थानिय तहमा कानुनी सचतेनाको अभावले सामान्य भन्दा सामान्य कामहरु गर्न समेत दु:ख पाइरहेकोले हरेक स्थानिय स्तरमा हरेक नागरिकलाई कानुन सम्बन्धी जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरेको स्कुलका कोर्डिनेटर नवराज भट्टले बताउनुभयो।

सचेतना कार्यक्रममा स्कुलका कार्यकारी प्रशासक जेबि दवाडीले कानुनी सचेतना कार्यक्रम गर्दैगर्दा समाजमा हाम्रो दायित्व , हाम्रो कर्तव्य , के गर्न हुने? के नहुनेँ? भन्ने बिषयमा सुसूचित नहुँदा कैयौं अवस्थामा हिंसा सहनुपर्ने अन्याय सहनुपर्ने अवस्था समाजमा रहेको बताउनुभयो। उहाँले कानुनबारे आधारभूत ज्ञान् दिने उदेश्यले सचेतना कार्यक्रम राखेको भन्दै अब उप्रान्त शिक्षा र स्वास्थ्यसंग सरोकार राख्ने यस्ता कार्यक्रमहरु बिद्यालयको क्यालेन्डरमा समेट्ने बताउनुभयो। साथै सभ्य नागरिक बन्नको निमित्त हामी सबैले कानुनको पालना गरौँ भन्दै कार्यक्रम समापन गर्नुभयो।

