मंगलवार, पौष १७ २०८०
पुस, १७ काठमाडौ । काठमाडौ महानगरपालिकाको तेस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। आज काठमाडौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा राष्ट्रपति रामचन्द्र पौडेलले भब्य उद्घाटन गर्दै राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता- २०८० शुरु भएको हो।

प्रतियोगितामामा काठमाडौ महानगर अन्तर्गत बिद्यालयका विद्यार्थीहरुले ब्यबस्थित मार्चपास देखाएका थिए । रनिङ् शिल्ड प्रतियोगिता तीन दिन सम्म चल्ने छ भने खेल हरु विभिन्न बिद्यालय, रंगशाला कवर्डहल लगाएत ठाउमा संचालन हुने छन।


उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागी शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको धारणा ब्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो । अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्, उहाँले भन्नुभयो।

उहाँले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पार्नुभयो। खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो।
त्यस्तै कार्यक्रममा महानगर उपप्रमुख सुनिता डंगोलले स्वागत मन्तव्य दिदै खेलकुदको मुल बिकास र बिस्तारको आधार भनेको बिद्यालय हुने धारणा ब्यक्त गरिन। उनले उत्कृष्ट अनुशासित र खेलाडी निर्माण गर्नुनै प्रतियोगिताको मुख्य उदेश्य रहेको बताइन।
उद्घाटन कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, बालबालिकाको सवल मानसिक अवस्था र उत्साहित भावनात्मक विकासमा खेलले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । ‘यी खेलहरु विगत बर्षमा विद्यालय परिसरमा आयोजना सीमित थिए । यस बर्ष वृहत बनाएर राष्ट्रिय खेल मैदानमा ल्याएका छौँ । यी खेलबाट अहिले नै राष्ट्रिय खेलाडी उत्पादन हुनुपर्छ भन्ने होइन । खेलबाट प्राप्त हुने उर्जाले जीवनलाई व्यवस्थापन गर्न ठूलो सहयोग पुर्याउँछ । यसका लागि पनि शिक्षा र खेललाई समान महत्व दिएर अगाडि बढाएका छौँ ।’ प्रमुख शाहको भनाइ थियो । मेयर बालेनले करिब ३२ सय विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएको भन्दै आगामी बर्ष १० हजार विद्यार्थीहरुलाई सहभागी गराउने उदेश्य रहेको बताउनुभयो।

आजबाट सुरु भएको खेलमा ३,२५० जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गर्नेछन । जसमा भलिवल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।
आजैबाट रंगशालाको कभर्ड हलमा उसु, कराँते र भलिवल खेल सुरु भइसकेका छन् । खेलहरु १९ गतेसम्म चल्नेछन् ।

भोलि विहान ७ बजेदेखि १२ बजेसम्म रंगशालामा एथलेटिक्स हुने शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । छात्रछात्रा कबड्डी र छात्रा भलिवल खेल कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखा, क्षेत्रपाटीमा हुनेछ । पुरुष भलिवल खेल कन्या विद्याश्रम मा. वि. डिल्लीबजारमा हुनेछ । तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा हुनेछ ।
विद्यार्थीहरुले गरेको मार्चपास हेर्नुस्।