सोमवार, पौष २३ २०८०
पुस, १३ वीरगञ्ज । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकामा आजदेखि एक साताका लागि विद्यालय बन्द गरेको छ। महानगरपालिकाको शिक्षा समितिको हिजो बसेको बैठकले पुस २३ गतेदेखि माघ १ गतेसम्म महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले आजदेखि माघ १ गतेसम्म महागरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको बताइएको छ। यद्यपि कतिपय संस्थागत विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले त्यस्ता विद्यालयलाई परीक्षा सकिएपछि बिदा दिइने बताइएको छ।
एक्कासि बढेको शीतलहर र चिसोका कारण पर्साको जनजीवनमा असर पर्नाका साथै अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी अस्पतालमा बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको छ। दूधे बालकदेखि ६० वर्षसम्मका बृद्धबृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्याको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । रासस