Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षाको गुणस्तर सुधार गर्न सर्वपक्षीय शैक्षिक बहस

शिक्षाको गुणस्तर सुधार गर्न सर्वपक्षीय शैक्षिक बहस

  • 521
    SHARES

  • शिक्षाको गुणस्तर सुधार गर्न सर्वपक्षीय शैक्षिक बहस

    पुस, २४ गते खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न सर्वपक्षीय शैक्षिक बहस थालेको छ। सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो ।

    पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस कार्यक्रम सुरु गरिएको बताइएको छ। नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार “सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, उच्च शिक्षा हासिल गरेका र तालिमप्राप्त शिक्षकको व्यवस्था छ । तर विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भने केही वर्षपछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेकोले तह अनुसार विद्यार्थीको क्षमता विकास हुनसकेको छैन । यिनै समस्या हल गर्ने प्रयासस्वरुप अन्तरक्रिया कार्यक्रम सुरु गरिएको हो ।”

    नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय शैक्षिक बहसको माध्यमबाट सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने राय सुझाव सङ्कलन गरेको छ । कार्यक्रममा सहभागीमध्ये ३२ जनाले सामुदायिक विद्यालय सुधार गर्ने विषयमा राय दिएका छन् । कतिपयले राजनीति सप्रिए स्वतः शिक्षामा सुधार आउने धारणा राखेका छन् । केहीले गाउँलाई बस्नलायक बनाइनुपर्ने सुझाव दिएका छन् ।

    यस्तै शिक्षक, जनप्रतिनिधिलगायतका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षाको प्रबन्ध मिलाउनुपर्ने, अभिभावक शिक्षाको व्यवस्था गर्नुपर्ने, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायतका सुझाव आएको छ । सुझाव टिपोट गर्दै प्रतिवेदन तयार गर्नका लागि शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राई संयोजक तथा पञ्च मावि दिक्तेलका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल र नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक प्रेम केसी सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।

    कार्यक्रममा व्यक्त सुझावका आधारमा पाँच दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको नगरप्रमुख भट्टराईले बताए । “न काखमा बच्चा छ न कोखमा । पाँच–सात वर्षपछि स्कुल रित्तो हुने अवस्था आउँदैछ । शैक्षिक गुणस्तर सुधारका कारणहरु खोज्न थालेका छौँ”, उनले भने, “प्राप्त राय सुझाव सङ्कलन गरेर कार्यान्वयनमा जान्छौैँ । समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः पाँच सदस्यीय सुझाव कार्यदल बनाउने र सो कार्यदलमार्फत वडा–वडामा पुगेर शिक्षक, अभिभावकबाट सुझाव सङ्कलन गरिन्छ । सो कार्यदलले दिएको सुझाव र निचोडलाई आगामी शैक्षिकसत्रबाट कार्यान्वयनमा ल्याउने योजना बनाएका छौँ ।”

    पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढीका अधिकांश वडाको ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालय विद्यार्थी अभावमा सङ्कटमा पर्दै गएको छ । कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी देखिन थालेको छ । नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने यसअघि नै प्रतिबद्धता जनाएका थिए । उसबेला मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रअले १७ बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् ।

    वर्तमान जनप्रतिनिधि निर्वाचित भएलगत्तै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहल थालिए पनि हालसम्म प्रभावकारी कार्यान्वयन भएको छैन । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह यो नगरपालिकामा मावि, निमावि र आवि गरी ९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । रासस

     

    images
    मंगलवार, पौष २४ २०८००७:५२:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार