बुधवार, पौष २५ २०८०
पुस, २५ काठमाडौँ । माध्यमिक शिक्षा परिक्षा (एसईई) परिक्षा राष्ट्रिय परिक्षा बोर्डको कार्यतालिका अनुरुप नै संचालन हुने भएको छ। शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आज आयोजना गरेको छलफलमा बोल्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई परीक्षा कार्यतालिका अनुसार नै सञ्चालन हुने बताएका हुन।
पछिल्लो समय जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पका कारण परीक्षा तालिका सर्ने हल्ला भए पनि त्यस्तो कुनै निर्णय नभएको अध्यक्ष शर्माले बताउनुभयो । यद्यपि भूकम्प प्रभावित क्षेत्रका बारेमा स्थलगत अवलोकन गरेर निर्णय लिने बताए । उनले भने ‘परीक्षा सार्ने कुरा हुँदैन, स्थलगत अवलोकन गर्न हामी जाँदै छौँ, वस्तुस्थित कस्तो छ, हेरेर निर्णय लिन्छौँ । सबैको परीक्षा सार्ने भन्दा पनि भूकम्प प्रभावित क्षेत्रको अवस्था हेरेर दुई जिल्लाको परीक्षा पछि लिन सकिन्छ । तर, त्यो सम्भावना पनि न्यून छ ।’
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन हुने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा पठनपाठनमा असर परेको कुरा आफूले सुनेपनि आधिकारिक कुनै जानकारी नआएको र परीक्षा सार्ने बारे व्यक्तिहरूसँग भएका कुराकानी मात्रै भएकोले तोकिएको मितिमै परीक्षा सञ्चालन हुने बताए ।
यसबारे बुझन बोर्डका पदाधिकारी यही शुक्रवार जाजरकोट र रुकुम पश्चिमको भ्रमण गर्दै छन् । साथै बोर्डको कार्यतालिका अनुसार चैतको पहिलो साताबाट एसईई परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
एक अर्को प्रसंगमा परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेको जानकारी दिए । उनका अनुसार खुला विद्यालयतर्फका विद्यार्थीको सङ्ख्या यकिन हुन सकेको छैन । तीमध्ये दुई लाख ४६ हजार चार पुरुष र दुई लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका थिए ।
यस वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्क पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ ।