बिहिवार, पौष २६ २०८०
पुस २६ गते, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने सुझाव दिनुभएको हो।
उहाँले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीको गुणस्तर खस्किने बताउनुभयो। ‘विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै १० को परीक्षा हटाएर राम्रो हुन्छ भन्ने छैन। उहाँले भन्नुभयो, ''जनशक्ति कस्तो बनाउने भन्ने कुरा पाठ्यक्रमले निर्देश गर्ने, पाठ्यक्रमको कार्यान्वयन शिक्षण सिकाइमा कसरी भइरहेको र प्रभावकारिता अथवा कस्तो भइरहेको छ भन्ने मूल्याङ्कन गर्ने परीक्षा मार्फत हो भएकोले कक्षा १० को परीक्षा हुन जरुरी छैन।" उहाँले एसईई हटाउँदा विद्यार्थीहरूले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको बताउनुभयो।
अध्यक्ष शर्माले कक्षा ८ पछि एकैपटक १२ कक्षामा परीक्षा लिँदा विद्यार्थीहरूको उत्तीर्ण हुने दर घट्ने बताउनुभयो। उहाँले कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी पुनः भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा विद्यार्थी अनुत्तीर्ण भए उमेरको कारणले पुनः पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताउनुभयो। उहाँले कक्षा १० मा परीक्षा आवश्यक रहेको बरु कक्षा १० को परीक्षा केन्द्रले नगरीकन प्रदेश तहले गर्नसक्ने उल्लेख गर्नुभयो।
त्यस्तै जुम्लामा पढ्ने विद्यार्थी र काठमाडौंमा पढ्ने विद्यार्थीको पाठ्यक्रम समान हुने भएकाले विद्यार्थीको शिक्षण सिकाइ स्तर पनि समान बनाउनको लागि राज्यले परिक्षाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
उहाँले कोभिड–१९ को महामारीपछि कक्षा ११ को परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिइराखेको उल्लेख गर्दै सो कक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भइराखेको बताउनुभयो। कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तीर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्याङ्कनमाथि पनि प्रश्न उठ्ने उहाँको भनाइ छ।