आइतवार, पौष २९ २०८०
पुस, २९ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्यालय परिक्षा नियन्त्रण कार्यलय बल्खुले प्रवाह गर्ने सेवामा सुधार गर्दै अधिकांश सेवा अनलाइन प्रणालिबाट प्रबाह गर्ने भएको छ। पनिकाले आगामी माघको पहिलो सातादेखि अनलाइन प्रणालीको सुरुवात गर्ने भएको हो।
यस सेवा संगै सेवाग्राही (विद्यार्थी) हरुले पनिका मै पुगेर घण्टौ लाइनमा बस्ने बाध्यताको समेत अन्त्य हुने भएको छ। यसका लागि पनिकाले आइतबार विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा अनलाइन प्रणालीको डेमो (नमुना प्रदर्शन) गर्ने भएको छ । अनलाइन प्रणाली लागु भएपछि विद्यार्थी पनिकामा धाइरहनु पर्दैन , 'परीक्षा नियन्त्रक पुष्पराज जोशीले भन्नुभयो, शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै विद्यार्थीले घरैबाट कागजात पेस गर्न सक्ने छन् । शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने छन् ।”
अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउनलगायत कामका लागि भौतिक रूपमा उपस्थित हुनु पर्दैन । पनिकाले अनलाइनबाट सेवा प्रदान गर्न दुई वर्षअघि नै तयारी गरेको भए पनि सूचना प्रविधिका दक्ष जनशक्ति अभाव भएकाले यो काम रोकिएको थियो ।
अनलाइनबाट प्रवाह गर्न सकिने अधिकांश सेवालाई अहिलेकै अवस्थाबाट विस्तार गर्न सकिने भए पनि सक्कली प्रमाणपत्र वितरणमा भने त्रिविले थप निर्णय गर्नुपर्ने हुन्छ । परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “सक्कली प्रमाणपत्रमा अहिले विद्यार्थी आफैँ उपस्थित भएर फोटो टाँस्न लगाउनुपर्ने कानुनी व्यवस्था छ । विद्यार्थीले अनलाइनबाट अपलोड गरेको फोटो हाम्रा सूचना प्रविधिसम्बन्धी कर्मचारीले प्रमाणपत्रमा टाँस्ने छन् तर यसका लागि कार्यकारी परिषद्ले निर्णय गर्नु पर्छ ।”
उहाँका अनुसार विद्यार्थीले माग गरेको कागजपत्र पनिकाले केन्द्रीय तथा क्षेत्रीय कार्यालयमार्फत सम्बन्धित क्याम्पसमै पठाइदिने छ । पनिका अन्तर्गत अहिले बल्खुबाहेक नेपालगन्ज, अत्तरिया, पोखरा, विराटनगर क्षेत्रीय कार्यालयबाट परीक्षासँग सम्बन्धित काम भइरहेको छ । मधेश प्रदेशलाई लक्षित गरेर छिट्टै जनकपुर कार्यालयबाट पनि काम सुरु हुँदै छ । “हामीले बनाएको योजना अनुसार काम भयो भने केही समयपछि विद्यार्थीको प्रमाणपत्र उनीहरूले दिएको घरको ठेगानामै पु-याइदिने छौँ । यसका लागि हुलाकसँग पनि समन्वय गर्दै र्छौं,” उहाँले भन्नुभयो ।
पनिकासँग अहिले सूचना प्रविधिसँग सम्बन्धित छ जना कर्मचारी कार्यरत छन् । थप सात जना यस्तै कर्मचारी माग गरिएको छ । त्रिविका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले पनिकाले प्रवाह गर्ने सेवालाई अनलाइन प्रणालीमा लैजान जनशक्ति अभाव हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “आइतबारको डेमो हेरौँ । त्यसपछि निर्णय गरौँला । राम्रो कामका लागि मान्छे अभाव हुन दिन्नौँ ।”
यसअघि विश्वविद्यालय सुधारको माग गर्दै विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा विद्यार्थी १८ दिनदेखि धर्नामा रहेका छन। विश्वविद्यालयबाट प्रदान गरिने सेवालाई डिजिटलाइजेसन गर्नुपर्ने, सेवालाई विकेन्द्रीकरण गर्नुपर्ने तथा संरचनागत सुधारको माग गर्दै आन्दोलन सुरु गरिएको हो। –गोरखापत्र दैनिकबाट