शनिवार, माघ १३ २०८०
माघ, १३ चितवन । भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको प्रारम्भ गरेको छ । स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न महानगरपालिकाले विद्यार्थी संग मेयर कार्यक्रम प्रारम्भ गरेको हो।
महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकि मेयर रेणु दाहलले यस कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने बताउनुभयो । उहाँले विद्यालयको सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । उक्त कार्यक्रममा मेयरसंग जिज्ञासा् राख्ने विद्यार्थीले बिद्यालयमा भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याइएको गुनासो गरेका थिए ।
भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिँदै शिक्षामा ठूलो लगानी गरिरहेको छ। यस कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०८०/८१ मा केही नमूना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवं संवाद गरिने बताइएको छ।