आइतवार, माघ १४ २०८०
माघ, १४ काठमाडौ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा कर्मचारीहरुले अनिश्चितकालीन तालाबन्दी तालाबन्दी गरेका छन। अनिश्चितकालीन तालाबन्दी गरेसंगै पठनपाठन समेत प्रभावित भएको छ। भने पढ्नका लागि विद्यालय आएका विद्यार्थीहरु गेटबाटै फर्कने गरेका छन् ।
पदमुक्त गरिएका कर्मचारीहरुले आइतबार बिहानैदेखि विद्यालयको मूलगेटमा तालाबन्दी गरेर अल्टिमेटमसहित आन्दोलनमा उत्रेको जनाएका छन् ।
गत कात्तिक १४ गते विद्यालय प्रशासनले व्यवस्थापन समितिको निर्णय भन्दै विद्यालयका छ जना शिक्षक कर्मचारी अधिकृत जयराम थापा सहित लेखापाल ठकबहादुर बुढाथोकी, पुस्तकालय सहायक रमा शाह, कार्यालय सहायक गौरी रावत र कार्यालय सहयोगीद्वय डमरबहादुर महत र दुर्गबहादुर खड्कालाई पदमुक्त गरेको थियो ।
अधिकृत थापाले विद्यालयमा विगत १७ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई वदनियतपूर्ण तरिकाले पदमुक्त गरेको भन्दै न्यायका लागि मुसिकोट नगरपालिका समेत पुगेको जानकारी दिए । गत मङ्सिर ४ गते नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बिनाराम खड्का, प्रा.स. नरेन्द्र ओली, वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, विद्यालयका प्रधानाध्यापक गोपीराम केसी, कार्यरत शिक्षकहरुको सयुक्त बैठकले पदमुक्त गरिएका कर्मचारीहरुलाई कामकाजमा फर्कन निर्णय गरेर पत्राचार गरिसकेको अधिकृत थापाको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिको पुस ६ गते बसेको बैठकले पुनः ६ जना कर्मचारीहरुलाई पदमुक्त गर्न निर्णय गरेकाले आफूहरु थप पीडित भएको आन्दोलनरत शिक्षकहरुको भनाइ छ । विद्यालयको यस प्रकारको निर्णय र पुस २९ गते पदमुक्त गरिएको पत्राचारले अन्याय भएकाले न्यायका लागि विद्यालयमा तालाबन्दी गर्नुपरेको पीडित कर्मचारीहरु उल्लेख गरेका छन् ।
विद्यालय प्रशासन र व्यवस्थापन समितिको उक्त कदम नसच्चिएमा विरोधमा थप कार्यक्रम गर्दै जाने भन्दै पीडित कर्मचारीहरुको तर्फबाट अल्टिमेटम समेत जारी गरिएको छ ।
२००९ साल आसोज १ गते स्थापना भएको रुकुम जिल्लाको सबैभन्दा जेठो विद्यालयका रुपमा चिनिने यस विद्यालयमा गत वर्षदेखि विद्यालय प्रशासन, व्यवस्थापन समिति र कर्मचारीहरु बिच भएको विवादका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको गुनासो बढेको छ ।