बिहिवार, माघ २५ २०८०
माघ, २५ गते काठमाडौँ । काठमाडौको चाविलमा अवस्थित सेन्ट लरेन्स कलेजको आयोजनामा साइन्स एन्ड आइटी एक्स्पो शुरु भएको छ। बिहीवार एक भब्य कार्यक्रमका बिच 'सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो २०८०' अर्थात सेन्टलरेन्स अन्वेषण शुरु भएको हो।

एक्स्पो उद्घाटन समारोहको अध्यक्षता कलेजका अध्यक्ष केशब प्रसाद दंगालले गर्नुभयो। साथै नेपाल बिज्ञान तथा प्रबिधि प्रतिस्ठान (नास्ट) का सचिव रबिन्द्रप्रसाद ढकाल प्रमुख अतिथिको रुपमा रहनुभयो। त्यस्तै उद्घाटन समारोहमा सेन्ट लरेन्सका कार्यकारी निर्देशक ताराप्रसाद सुवेदी, प्रिन्सिपल पुरुषोत्तम महर्जन, वडा सदस्य बिमल कुमार होडा, पुर्व वडाअध्यक्ष शुद्ध कुमार डङ्गोल लगाएत विभिन्न कलेजका प्रिन्सिपल, बिभागिय प्रमुख, शिक्षक र कर्मचारीको उपस्थिति रहेको थियो।

'सेन्ट लरेन्स साइन्स एण्ड आइटी' एक्स्पोमा विद्यार्थीहरूले स्थानिय श्रोत साधनबाट निर्मित विभिन्न किसिमका प्राेजेक्टहरू प्रदर्शन गरेका छन्। एक्स्पोमा विद्यार्थीहरूले एक-अर्काकाे प्राेजेक्टहरू नियाल्ने र आइडियाहरू साटासाट अवसर प्राप्त गरेका छन्। साथै एक्स्पोमा उत्कृष्ट हुने विद्यार्थी वा कलेजलाई पुरस्कारसमेत व्यवस्था गरेको छ। एक्स्पो भोलि २६ गते सम्म चल्ने छ। एक्स्पोमा काठमाडौ उपत्यकाका विभिन्न २० वटा बिद्यालयहरु सहभागी रहेका छन।

एक्स्पो उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक ताराप्रसाद सुवेदीले स्वागत मन्तव्य दिनुभयो। समारोहमा कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले शुभकामना मन्तव्य दिनुभयो। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि विद्यार्थीहरूमा रहेको सिप क्षमता तथा दक्षतालाई प्रवर्द्धन गर्न विज्ञान प्रदर्शनी प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले विद्यार्थीसंग भएको रचनात्मक क्षमतालाई प्रदर्सन गर्न र समाजमा स्थापित गर्न एक्स्पोले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा नाष्टका सचिव रबिन्द्र प्रसाद ढकालले सेन्ट लरेन्स कलेजले गरेको बिज्ञान प्रदर्शनी प्रती खुशी ब्यक्त गर्नुभयो। नास्टले विद्यार्थीहरूलाई पढाउने नभएर अन्वेषण र आविस्कार गर्ने विद्यार्थीलाई सहयाेग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'अनुसन्धान गर्ने विद्यार्थीहरुलाई सहयोग गर्छौ। समुदायलाई बिज्ञान दिन्छौ र समुदायले पालेको भ्रमपुर्ण बिज्ञान तोड्छौ।'

नास्टको काम भनेकै विद्यार्थीहरूका माझ विज्ञान र प्रविधिलाई प्रवर्द्दन गर्ने र अनुसन्धान गर्नेहरूलाई आवस्यकता अनुसार सहयोग गर्ने हो। सचिव ढकालले फरकफरक आइडियालाई एकै बनाउने र सहकार्य गरेर नयाँ प्रोजेक्ट बनाउने कार्यमा जोड दिनुपर्ने बताउनुभयो।

उहाँले बिज्ञान र प्रबिधिको प्रयोग बिना बिकास सम्भव नरहेको भन्दै आउने दिनमा विज्ञान र प्रविधिकाे प्रयाेग गरेर नै राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो। अब अन्वेषणलाई समाजामा लैजानु पर्छ, त्यसकोलागी नास्टले तयारी गरिरहेको धारणा ब्यक्त गर्नुभयो ।

त्यसैगरी आजको दिनमा अनुसन्धानका लागि विदेश नै जानुपर्छ भन्ने धारणा चिर्न नास्ट लागिपरेको भन्दै उहाँले स्याटलाइट बनाउन नासा जाने नभई नेपालमै त्यो काम गर्न सकिने बताउनुभयो। हामिले एउटा सेटेलाइट पहिलेनै पठाइ सकेको छौ भन्दै फेरि डांफे र मुनाल Satellite निर्माण भैसकेको र त्यसलाई भारतको इसरोबाट अन्तरिक्षमा पठाउने तयारी रहेको बताउनुभयो।

अन्वेषण कपाल फुलेकाले मात्रै होइन भक्खरको युवाहरुले पनि गर्न सक्छ भन्दै त्यसकोलागी टिममा सहकार्य गरेर अघिबढ्नुपर्ने बताउनुभयो। 'Collaboration गरेर अन्वेषण गर्न सकिन्छ।, नेटवर्क बनाएर काम गर्न सकिन्छ। एउटै स्कुल मात्रै बनेर हुदैन सबै स्कुल राम्रो बन्नुपर्छ। अन्वेषण गरेर मात्रै हिड्ने होइन त्यसलाई जीवनसंग जोड्नुपर्छ डा. ढकालले भन्नुभयो ।'

उद्घाटन कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालले सिर्जना र नविनतम आविस्कारको क्षेत्रमा काम गर्न हात बढाइरहेको बताउनुभयो। साथै अन्वेषणका क्षेत्रमा काम गर्न चाहनेलाई सहयोग पुर्याउन सेन्ट लरेन्सले कार्यक्रम आयोजना गरेको धारणा ब्यक्त गर्नुभयो ।

सभापति दंगालले भन्नुभयो 'हामिसंग प्रतिभा छ तर प्रतिबद्धता नभएको हो साथ र सहयोग गर्ने नभएका हुन। हाम्रो विद्यार्थीले गरेको अन्वेषणमा सबैले सहयोग गर्नेहो भने हामी धेरै गर्न सक्छौ। साझेदारी रुपमा देशभरीबाट विद्यार्थी बोलाएर 'Science & IT Expo' प्रतिबद्धता ब्यक्त गर्न चाहान्छु। र भोलिका दिनमा स्कुल कलेजको तर्फबाट गर्ने आर्थिक, नैतीक र भौतिक सहयोग गर्ने छौ।' एक्स्पो अवलोकन गर्न विभिन्न विद्यार्थीहरुको घुइचो लागेको थियो।






