बुधवार, फाल्गुण २३ २०८०
फागुन, २३ काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा रुपन्देहीका एक स्थायी शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । श्री केरवानी माध्यमिक विद्यालयका स्थायी शिक्षक दुर्गादत्त शर्माविरुद्ध नक्कली प्रमाणपत्रसम्बन्धी आरोप–पत्र दायर गरिएको विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
देवदह नगरपालिका वडा नम्बर– ५ मा सञ्चालित उक्त विद्यालयका शिक्षक शर्माले स्नातकोत्तर (एमए) तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएर कार्यरत रहँदै आएका थिए ।
शिक्षक शर्माले भारतको गोरखपुर विश्वविद्यालयबाट नक्कली शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्र ल्याएको पाइएको अख्तियारका प्रवक्ता नरहरि धिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘शिक्षक शर्माले भारतको गोरखपुर विश्वविद्यालयबाट एमए तह उत्तीर्ण गरेको नक्कली शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्रहरू पेश गरी विश्वविद्यालय अनुदान आयोगबाट वार्षिक रुपमा नियमित अनुदान लिने क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्त भएको पुष्टि हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिई बुधवार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।’
