शुक्रवार, बैशाख ७ २०८१
बैशाख, ७ गते काठमाडौ । काठमाडौ महानगरपालिका भित्रका संस्थागत विद्यालयहरुले बर्षैपिच्छे भर्ना शुल्क लिन नपाउने भएका छन्। महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको हो ।
विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने र यदि भर्ना शुल्कका नाममा रकम लिए सम्बन्धित विद्यालयबाट असुल गरी फिर्ता गरिने सूचनामा उल्लेख छ।
महानगरको सूचनामा भनिएको छ,‘संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४.१ (२) मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेतापनि काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिनुहुन तथा यसअघि प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्नुहुन समेत अनुरोध छ ।’
महानगरले अनुगमनको क्रममा ऐन, कानुन, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्कलगायतका अन्य शुल्क लिइएको पाइएमा कारबाही गरिने उल्लेख गरेको छ ।
