सोमवार, बैशाख १० २०८१
काठमाडौं- शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन्।
शिक्षकहरुले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढएसम्म उत्तरपुस्तिका नजाच्ने बिज्ञप्तिमा उल्लेख गरेका छन।
परीक्षा नियन्त्रक (कक्षा १०) लाई सम्बोधन गरिएको विज्ञप्तिमा भनिएको छ ‘पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने व्यहोरा अवगत गराउँदै पुन: ध्यानाकर्षण गराउँछौं।’ यसबाट पर्न जाने असर प्रति संघीय सरकार नै जिम्मेवार हुनुपर्ने उनीहरुले बताएका छन्।
यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणबापतको पारिश्रमिक रकम बढाउन माग गर्दै ललितपुरका शिक्षकहरूले आइतबार परीक्षा केन्द्रमा ताला लगाइदिएका छन्।
