सोमवार, बैशाख १० २०८१
बैशाख, १० गते कञ्चनपुर । टिकापुर बहुमुखी क्याम्पसको ३ सय बिघा जमिन अतिक्रण भएको छ। महालेखापरिक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसको ३ सय ८० बिघा जग्गा रहेकोमा ३ सय बिघा जग्गा अतिक्रमण भएको हो ।
विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ । र अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुमवासीका नाममा अतिक्रमण भएको क्याम्पसले जनाएको छ ।
विसं २०६३ मा क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धविन्द्र रावलले जानकारी दिए । “हामीले कृषि एजी कार्यक्रम सञ्चालन गरेका छौँ, यसमा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक क्रियाकलापहरु गर्न हामीसँग ठाउँ छैन,” क्याम्पस प्रमुख रावलले भने, “विद्यार्थीहरूको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन नहुँदा समस्या भएको छ ।” उनले स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म पटकपटक अतिक्रमण हटाई दिन आग्रह गरे पनि अतिक्रमण हटाउन नसकेको बताए ।
अतिक्रमण हटाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार र सर्वपक्षीय बैठकबाट विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको सहभागितामा पटक–पटक छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छैन।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति कर्ण थापाले विश्वविद्यालयको जग्गा अतिक्रमण हुँदा कृषि विज्ञान सङ्काय सञ्चालनमा कठिनाइ भएको जानकारी दिए । “विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा उपयोग गरी कृषिफार्महरु विस्तार गर्न सके हाम्रा विद्यार्थीहरूलाई सिक्ने र कमाउने माध्यम बन्ने थियो,” उपकुलपति थापाले भने, “विश्वविद्यालयको उक्त जग्गा अतिक्रमणमुक्त गरिदिन सम्बन्धित निकायहरूसँग आग्रह गर्दछु ।” उनले आइतबार दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत अतिक्रमणमा परेको उक्त जग्गा हटाउन पहल गरिदिन आग्रह गरे ।
त्यसैगरी टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले उक्त जग्गामा वर्षौंदेखि बसोबास रहेकाले अतिक्रमण हटाउन समस्या भएको बताए । “त्यहाँ बसोबास गर्नेहरुले भूमि आयोगमा निवेदन दिएका छन्,” उनले भने, “जग्गा अतिक्रमण गर्नेहरुलाई राजनीतिक दलहरूले संरक्षण गरेका छन् ।” उनले सरकारले भूमिहीन सुकुम्वासीको अन्य ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा क्याम्पसको प्रयोगमा ल्याउनुपर्ने बताए । उनले यो समस्या समाधानका गर्न सबै राजनीतिक दलहरूले एकमत भएमात्रै सम्भव रहेको बताए । रासस