मंगलवार, बैशाख ११ २०८१
बैशाख, ११ गते कैलाली । धनगढी उप-महानगरपालिकाद्वारा नमुना बिद्यालय निर्माणका लागि छनोटमा परेको ५ वटा विद्यालयमा १०/१० का दरले ५० वटा डिजिटल स्मार्ट बोर्ड बितरण गरेको छ।
जसमध्ये धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन सुरू भएको छ। उपमहानगरले नमुना विद्यालय घोषणा गरेको उक्त बिद्यालयमा कक्षा १ देखि १० सम्म स्मार्टबोर्डका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न थालिएको हो।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार श्री सिद्धनाथ मा.वि. धनगढी -१२ मा जडान गरिएका १० वटा डिजिटल स्मार्ट बोर्डको सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्ट्रार एवं शिक्षाविद् प्रा.डा. हेमराज पन्तबाट समुदघाटन कार्यक्रम सम्पन्न भएको छ। सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन स्मार्टबोर्डको प्रयोग गरिएको प्रमुख हमालले बताउनुभयो ।
स्मार्टबोर्डको प्रयोग पचि शिक्षण गर्न निकै सहज भएको विद्यालयमा अध्यापन गर्ने शिक्षक तेजराज भट्टले बताए। उनले भने, ‘स्मार्टबोर्ड जडानपछि हामीलाई पढाउन र कुरा बुझाउन निकै सहज भएको र विद्यार्थीले पनि शिक्षण सिकाइ क्रियाकलापमा रुचि देखाएका छन्’। साथै स्मार्टबोर्डले गर्दा कुनै कक्षामा शिक्षक नभएको अवस्थामा पनि विद्यार्थीले पढ्न र अभ्यास गर्न पाउने अवस्था निर्माण भएको छ।’