मंगलवार, बैशाख १८ २०८१
बैशाख १८ गते कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भिसी) को लागि ३ जनाको नाम सिफारिस भएको छ। विश्वविद्यालयको उपकुलपति छनौट समितिले मंगलबार तिन जनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो।
शिक्षा मन्त्रालय स्रोतका अनुसार सिफारिस हुनेमा प्राध्यापक प्राडा. हेमराज पन्त, प्राडा भवानीदत्त जोशी र प्राडा अक्कलदेव मिश्रको नाम हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको छनोट तथा सिफारिस समितिले २६ माघमा १० दिनको समय तोकेर आवेदन माग गरेको थियो। सो अवधिमा ९ जनाले आवेदन दिएका थिए। तर विवाद भएपछि उपकुलपति छनोट प्रक्रिया स्थगित भएको थियो।
त्यसपछि पुन: आवेदन आह्वान गरेर प्रक्रिया अगाडि बढाइएको थियो। अहिले सो प्रक्रिया प्रधानमन्त्री कार्यालयसम्म पुगेको हो। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको कार्यकाल १८ फागुनबाट सकिएर निमित्त उपकुलपति तोकिएका थिए।