बिहिवार, बैशाख २० २०८१
बाईस, २० गते । काठमाडौ महानगरपालिकाले संस्थागत बिद्यालयले दिने छात्रवृत्ति विवरण जेठ दुई गतेसम्म उपलब्ध गराउन निर्देशन दिएको छ। महानगर प्रमुख बालेन शाहले शैक्षिक सत्र २०८१ मा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन भनेको हो ।
महानगरले यो वर्ष विद्यालयहरूलाई सजिलोको लागि online platform निर्माण गर्दै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण Email तथा SMS मार्फत उपलब्ध गराइएको User Napme र Password बाट Login गरि पठाउन सकिने जनाएको छ ।
विवरण पेस गर्दा उपलब्ध गराइएको पोर्टल मा २ वटा फर्महरू रहेका छन, एउटामा कक्षागत रूपमा जम्मा विद्यार्थी भर्ना सङ्ख्या र १० प्रतिशतले हुन आउने कक्षागत छात्रवृत्ति सङ्ख्या तथा अर्को फर्ममा छात्रवृत्ति पाउने सम्पूर्ण विद्यार्थीहरूको विवरण भर्नु पर्नेछ । सफ्टवेयर संचालन वा फर्म भर्ने सम्बन्धि कुनै समस्या भएमा महानगरपालिकाको शिक्षा बिभाग वा ९८५११९९९४५ मा सम्पर्क गरि सपोर्ट लिन सक्ने उल्लेख गरेको छ।
साथै नियमअनुसार विवरण पेस नगर्ने विद्यालयहरूलाई काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
गत वर्ष ४ सय ६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए ।
महानगर प्रमुख बालेन शाहले लेखेका छन, '' काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ । सोही कानुनको आधारमा गत बर्ष ४६५ बिद्यालय बाट १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए।''
साथै बालेनले कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ भन्दै कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताएका छन्।