बुधवार, जेठ २ २०८१
जेठ, २ गते ,निजगढ। बाराको निजगढ नगरपालिका–५ वागदेवमा अवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयका शिक्षकहरु हरेक शुक्रबार आ–आफ्ना सांस्कृतिक पोशाकमा विद्यालयमा उपस्थित हुन थालेका छन्। विद्यालयले सांस्कृतिक पहिचानलाइ झल्काउन गरेको व्यवस्था अनुसार हरेक हप्ता शुक्रबार शिक्षकहरु सांस्कृतिक पोशाकमा सजिएर जानथालेका हुन्।

गुरुङ, तामाङ, मधेसी, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पठनपाठन गर्ने यस विद्यालयमा साताको एक दिन शिक्षकहरु आफ्नै मौलिक पोशाकमा सजिएर विद्यालय पुग्ने गर्दछन् । धेरै जातजातिको बसोबास रहेका कारण शिक्षकहरू आ–आफ्नो सांस्कृतिक पोशाकमा सजिएर विद्यालय आउदा आफ्नै मौलिक पहिरनको प्रवद्र्धन तथा विद्यार्थीबीच एकअर्का जातिको विशेषता चिन्न, बुझ्न र सम्मान गर्न सहयोग पुग्ने विद्यालयले विश्वास लिएको छ । अभियानले पोशाक लगाउने सीपको विकास हुनुका साथै औपचारिक शिक्षाको व्यावहारिक ज्ञान हुने विद्यालयको ठम्याइ छ।

आफ्नो मौलिक पोशाकबारे जानकारी पाउँदा नयाँ पुस्ताबाट संस्कृति र परम्पराको निरन्तरता हुने देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए।‘अहिले शिक्षकहरुबाट सुरु गरेका छौँ बिस्तारै विद्यालयले अभियान सञ्चालनका लागि सबै अभिभावक र वडाका जनप्रतिनिधिहरूसँग छलफल गरेर विद्यार्थीलाई समेत जातीय तथा साँस्कृतिक पोशाक खरिद गरी लगाउने बानी बसाल्न विद्यालयले आह्वान गरेर यस वर्षदेखि नियमित गर्ने तयारीमा छौँ।’ अध्यक्ष गौतमले भने।
सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोसाकको पढाइ गर्नुपर्ने हुन्छ। त्यसैको सिलसिलामा यी विषयहरूको व्यावहारिक ज्ञान दिन यो व्यवस्था गरेको प्रधानाध्यापक हस्तबहादुर लामाले भने।

२०२२ सालमा स्थापना भएको यस विद्यालयमा ६ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १६ महिला शिक्षिकासहित ३० शिक्षक ४ जना कर्मचारी कार्यरत छन । निजगढ न्युजको सहयोगबाट।

तपाइलाई सांस्कृतिक पोशाकलाइ अनिवार्य गर्ने बिद्यालयको नियम कस्तो लाग्यो ?