आइतवार, जेठ २० २०८१
जेठ, २० काठमाडौँ । सरकारले कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीलाई दुईमहिने जीवनोपयोगी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय शिक्षालाई सिपमूलक बनाउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
यस कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई दुईमहिना (आठ हप्ता) अवधिको तालिम दिइने शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। जस अन्तर्गत प्रतिकारात्मक स्वास्थ्य, सन्तुलित भोजन, पाककला, प्राथमिक उपचार, सवारी अनुमति तथा सवारी नियम, आत्मसुरक्षा तथा अनुशासन, कार्यक्षेत्र सुरक्षा, यौन दुव्र्यवहार, राष्ट्रप्रेम, स्वयंसेवा र योग, ध्यान तथा कला लगायतका व्यावहारिक विषय समावेश गरिने छ ।
कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायसँगको समन्वयमा अनिर्वाय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
शिक्षाको उत्पादन र रोजगारीसँग सम्बन्ध स्थापित गर्न नसकिएकाले शैक्षिक बेरोजगारी बढ्दै गएको र जसको कारण युवाहरु ठूलो संख्यामा बिदेशिएका छन र अझै यो क्रम बढ्दो छ। सरकारले हालै सार्वजनिक गरेको १६ औँ योजना अनुसार लक्ष्य प्राप्तिका लागि शिक्षामा लगानी बढाउँदै लैजाने उल्लेख गरेको छ ।
१६ औँ योजनाले आगामी पाँच वर्षमा पाँच वर्षमाथिको साक्षरता दर ८५ प्रतिशत पु¥याउने सरकारले लक्ष्य लिएको छ । हाल पाँच वर्षभन्दा माथि उमेरको साक्षरता दर ७६.३ प्रतिशत छ । १५ देखि २४ वर्ष उमेरको साक्षरता दर ९२ प्रतिशत छ । सरकारी तथ्याङ्क अनुसार हाल गण्डकी, बागमती र कोशी प्रदेश पूर्ण साक्षर प्रदेश घोषणा भइसकेका छन् ।
यसै गरी योजनाको अन्तिमसम्ममा शिक्षातर्फको कुल गार्हस्थ उत्पादन पाँच खर्ब ६१ अर्ब ६६ करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ । हाल चार खर्ब २९ अर्ब ४४ करोड रुपियाँ रहेको प्रारम्भिक अनुमान छ । यसै गरी योजनाको अन्तिमसम्ममा शिक्षामा पाँच खर्ब ११ अर्ब ९९ करोड रुपियाँ लगानी हुने प्रक्षेपण गरिएको छ ।
सरकारले सार्वजनिक गरेको योजना दस्ताबेज अनुसार १६ औँ योजनाको अन्तिम वर्षमा सबैभन्दा बढी निजी क्षेत्रबाट शिक्षामा लगानी हुने अनुमान गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।