शनिवार, जेठ २६ २०८१
जेठ, २६ गते । बागमती प्रदेश सरकारले बागमती प्रदेश विश्वविद्यायलय सञ्चालनका लागि बाग्मती विश्वविद्यालय संरक्षक समितिमा ६ जनालाई सदस्यमा नियुक्त गरेको छ । प्रदेशमा विश्वविद्यालय स्थापना गरेको करिब दुई महिनापछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संरक्षक समितिका सदस्य नियुक्त गर्नुभएको हो ।
बाग्मती विश्वविद्यालय संरक्षक समितिका सदस्यहरुमा प्राडा चन्द्रमणि पौडेल, कृष्ण कटुवाल, बच्चुराम अधिकारी, नुनरानी ढुङ्गेल, किरणचन्द्र दाहाल र बच्चुराम अधिकारी रहेका छन् । सदस्यहरुलाई मुख्यमन्त्री जम्कट्टेलले समितिका सदस्यलाई ऐन, नियम र कार्यविधिअनुसार काम गर्न निर्देशन दिनुभयो।
बागमती प्रदेश सरकारले शैक्षिक क्षेत्रमा हाल जारी कोटा प्रणालीको प्राविधिक शिक्षाका कारण उच्च शिक्षाका लागि विद्यार्थी विदेश जानुपर्ने बाध्यताको हल गर्न प्रादेशिक विश्वविद्यालय स्थापना गरिएको बताउनुभयो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उच्च शिक्षाका लागि विद्यार्थी बाहिर जाने र उतै बस्ने अवस्था रोक्न प्रदेश सरकारले विश्वविद्यालय स्थापना गरेको बताए । उनले प्रदेशमा स्थापना हुने सार्वजनिक विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिने बताए ।
प्रदेश सरकारको एकल अधिकारको सूचीमा रहेको उच्चशिक्षालाई प्रयोग गर्दै विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले उच्च शिक्षा ऐन, २०७८ मा भएको व्यवस्थाअनुसार सार्वजनिक विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति, प्राज्ञिक परिषद्, कार्यकारी परिषद् र सेवा आयोग गठनको व्यवस्था गरेको छ ।