आइतवार, आषाढ ९ २०८१
असार, ९ गते काठमाडौं - शिक्षा बिज्ञान तथा मन्त्री सुमना श्रेष्ठले शिक्षा बिधेयक सदनबाट छिनोफानो गरिदिन आग्रह गरेकी छन्। आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि सभामा भएको मन्त्रालयगत छलफलमा प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकि हुन्।
बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक अलमलमा परिरहेका बेला मन्त्री सुमना श्रेष्ठले आफूले गर्नपर्ने काम सकिसकेको र अब सदनले छिनोफानो गरिदिनु पर्ने भन्दै मन्त्रीले काम नगरेर शिक्षा ऐन बनेन भन्ने भाष्य गलत भएको जिकिर गरिन। उनले विधेयक पास गर्ने विषय आफ्नो हातमा नभएको बताएकी छन् ।
आफू समितिमा हुँदा शिक्षा विधेयकलाई प्रदेशगत रूपमा लगेर छलफल गर्ने कुरा गरेको स्मरण गर्दै उनले त्यसलाई अघि बढाइदिन आग्रह समेत् गरिन् । 'म यो रोष्ट्रम मार्फत सबैलाई स्पष्ट पार्न चाहन्छु – शिक्षा विधेयक मन्त्रालयमा अड्केको छैन, सरकारसँग छैन, मेरो हातमा छैन । सदनमा पेश भैसकेको छ, समितिमा सांसदहरूसँग छ' उनले भनिन् ।
'शिक्षा विधेयक समितिमा छलफल अघि नबढेको भनी मैले समिति सभापतिज्यूलाई मौखिक र लिखित रूपमा समेत विधेयक अगाडि बढाईदिन आग्रह गरेको भन्दै मन्त्रीको काम के, सदनको काम के भन्नेमा भ्रम फैलाउन बन्द गरि सबैले आआफ्नो कामगर्न ध्यान दिनुपर्ने बताइन।
मन्त्रालयको काम विधेयक बनाएर बुझाउने भएको भन्दै उनले त्यो काम भईसकेको र पारित गर्ने फिर्ता पठाउने काम सदनको भएको उनले उल्लेख गरिन् । दुई साता अघि शिक्षक महासंघले विधेयकलाई अगाडी बढाउन ध्यानाकर्षण गराएको स्मरण गर्दै उनले महासंघको शब्द हुबहु कपी पेस्ट सदनमा सुन्दा खुसी लागेको बताईन् । 'जनताको आवाज बोलिएको छ । तर, यसले मलाई के भान दियो भने शक्ति पृथकीकरणको एउटा अभिमुखिकरण चाहिँ यो सदनमा चलाउनु पर्ला जस्तो छ' उनले भनिन् ।