आइतवार, आषाढ ९ २०८१
असार, ९ गते । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले महानगरपालिकाबाट आयोजना गरिएका वा आयोजक संस्थाको अनुरोधमा महानगरपालिकाबाट पत्राचार गरी खटाइएका कार्यक्रमभन्दा अन्यत्र काममा बाहिर जानुपरेमा बिदा स्वीकृत गराएर मात्र जान पाइने भएको छ।
काठमाडौ महानगरपालिकाले विद्यालयमा नियमित उपस्थिति तथा बिदाको अभिलेख राख्ने सम्बन्धमा सबै सामुदायिक विद्यालयहरुलाई पत्राचार गर्दै यस्तो जानकारी दिएको हो।
काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुले विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीलाई काठमाडौं महानगरपालिकाबाट आयोजना गरिएका वा आयोजक संस्थाको अनुरोधमा महानगरपालिकाबाट पत्राचार गरी खटाइएका कार्यक्रमभन्दा बाहेक अन्यत्र कुनै पनि कार्यक्रममा सहभागी हुन जाँदा वा विद्यालयमा अनुपस्थित रहँदा विद्यालयवाट रितपूर्वक विदा स्वीकृत गरी गराई मात्र जाने व्यवस्था मिलाउनु हुन अनुरोध छ पत्रमा लेखिएको छ।
साथै शिक्षक कर्मचारीहरुको विदाको अभिलेख प्रमाणित गर्दा काजको हकमा महानगरपालिकाको काज खटाएको पत्र र बिदाको हकमा रितपूर्वक विदा स्वीकृत भएको पत्र रुजु गरिने भएकाले विदा प्रमाणित नभई त्यसबाट असुविधा पर्न गएमा सम्बन्धित शिक्षक तथा प्रधानाध्यापक स्वयम् जिम्मेवार हुने व्यहोरासमेत पत्रमा उल्लेख गरेको छ।
