मंगलवार, आषाढ १८ २०८१
असार, १८ गते काठमाडौ । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयले एसइई परीक्षाको नतिजा २५९% ले सुधार भएको बताएको छ। काठमाडौ महानगरले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्ष (०७९) को तुलनामा यस वर्ष (०८०) २५९ प्रतिशतले नतिजामा सुधार आएको महानगरले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुबाट २०८० सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७%) विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको छन् । गएको बर्ष १५० जना (३.८३%) विद्यार्थीले यो नतिजा प्राप्त गरेकोमा बर्ष २५९% सुधार आएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।
झाकाअनुसार ३.६० देखि ३.२१ सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष १ हजार ५० जना (२६.५२%) छ । गएको बर्ष यो संख्या ४८८ जना (१२.४५ %) थियो । यो समूहमा गएको बर्षभन्दा यस बर्ष ११३% ले नतिजा वृद्धि भएको छ । यसमा नतिजा बढ्ने क्रममा छ ।
३.२० देखि २.८१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष १ हजार ८० जना (२७.२८%) छ । गएको बर्ष ८०९ जना (२०.६३%) थियो । यस बर्ष गएको बर्षभन्दा ३२ प्रतिशत संख्या वृद्धि भएको छ ।
यस्तै २.८० देखि २.४१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष ३९५ जना (९.९८%) छ । यसमा गएको बर्ष ९८२ जना (२५.०४ %) थियो ।
यस्तै २.४० देखि २.०१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष १६ जना (०.४०%) छ । गएको बर्ष यो संख्या ९२३ जना (२३.५४%) थियो । यो नतिजाले कम संख्या ल्याउने विद्यार्थीको संख्या घटिरहेको र धेरै अङ्क ल्याउने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ, झाको भनाइ छ ।
त्यसैगरी २ र त्यसभन्दा तल जीपीए ल्याउने विद्यार्थीको सख्या ८७३ छ । यो २२.०५% हो । गएको बर्ष यस समूहमा ५६९ जना अर्थात् १४.५२ प्रतिशत विद्यार्थी थिए ।
इन्जिनियर झाका अनुसार कुलमा ५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष तीन हजार नौ सय ५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये तीन हजार ८६ जना उत्तीर्ण भएका छन् । आठ सय ७३ जनाले पुनः परीक्षा दिनुपर्ने भएको छ ।
गत वर्ष तीन हजार नौ सय १२ जना आवेदक थिए । झाका अनुसार ३.६० देखि ३.२१ सम्म जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष एक हजार ५० छ । गत वर्ष यो संख्या चार सय ८८ थियो । यो समूहमा गएको वर्षभन्दा यस वर्ष ११३ प्रतिशतले नतिजा वृद्धि भएको छ ।