शुक्रवार, आश्विन १६ २०८३
काठमाडौँ । विद्यालयमा जङ्कफुड निषेध गर्ने निर्णयपछि उत्पन्न विवाद अभिभावक र शिक्षकबीचको टकरावमा परिणत हुँदा सोलुखुम्बुको सोताङ गाउँपालिका–२, चेपेलस्थित चेपेल आधारभूत विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।
विद्यालयका अनुसार जङ्कफुड निषेध गर्ने विषयलगायत विद्यालयका शिक्षक, विद्यार्थी तथा शिक्षक–अभिभावक संघका सदस्यबीच विवाद बढ्दै गएपछि विद्यालयको सम्पूर्ण कामकाज तथा पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो।
विद्यालयले जारी गरेको सूचनामा विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघबीचको विवादका कारण विद्यालयको नियमित शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भएको जनाइएको छ। विवाद समाधान नभएसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयको भनाइ छ।
विद्यालयमा विद्यार्थीको स्वास्थ्य तथा सिकाइ वातावरणलाई ध्यानमा राख्दै जङ्कफुड नियन्त्रण वा निषेध गर्ने विषयमा गरिएको निर्णयले विवादको रूप लिएको बताइएको छ। उक्त निर्णय कार्यान्वयन गर्ने क्रममा अभिभावक, शिक्षक तथा विद्यालयसँग सम्बन्धित पक्षबीच मतभेद बढेको हो।
विद्यालय बन्द भएपछि विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ। विद्यालयमा देखिएको विवाद समाधान गरी शैक्षिक गतिविधि तत्काल सञ्चालन गर्नुपर्ने मागसमेत उठेको छ।
सम्बन्धित पक्षबीच संवादमार्फत विवाद समाधान गरी विद्यालयको वातावरण सहज बनाउन स्थानीय तह तथा सरोकारवाला निकायको पहल आवश्यक देखिएको छ।
