बुधवार, आषाढ १९ २०८१
असार, १९ काठमाडौ । शिक्षकहरुले आर्थिक वर्ष समाप्त बहएको ६० भित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ। राष्ट्रिय किताबखानाले एक सूचना जारी गर्दै शिक्षकहरुले आर्थिक वर्ष २०८०/२०८१ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान भएकोले विवरण बुझाउन अनुरोध गरेको छ।
जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरूमा कार्यरत रहेका स्थायी शिक्षकहरूको आ.व. २०८०/०८१ को सम्पत्ति विवरण नेपाल राजपत्र भाग ५ खण्ड ६० संख्या १ मिति २०६७ वैशाख ६ को नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचनामा तोकिएको ढाँचा बमोजिमको सम्पत्ति विवरण फाराम भरी बुझाउनुपर्ने सुचनामा उल्लेख छ ।
खामबाहिर देहायको विवरण उल्लेख गरी राष्ट्रिय किताबखाना (शिक्षक) मा पठाउन अनुरोध गरेको छ । १. खाममा बाहिर “ आ.व. २०८० / ०८१ को सम्पत्ति विवरण“ लेख्नेक) शिक्षकको संकेत (सिटरोल) नं. : ख) कार्यरत विद्यालयको नाम र पुरा ठेगाना :ग) शिक्षकको नाम थरः घ) कार्यरत विद्यालयमा हाजिरी मिति :ङ) तह : च) प्रदेश :छ) श्रेणीः ज) जिल्ला :झ) मोबाइल नम्बरः ञ) स्थानीय तह :
२. स्थायी शिक्षकहरूको आ.व. २०८०/०८१ को सम्पत्ति विवरण दर्ता गर्न व्यक्ति स्वयम् (व्यक्तिगत रुपमा) सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखाना (शिक्षक) जानु नपर्ने गरी विद्यालय÷स्थानीय तहले सङ्कलन गरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइहरूमा बुझाउने र इकाइहरूले जिल्लाका सबै विद्यालय शिक्षकहरूको एकमुष्ट मिति २०८१ साल श्रावण १ गतेदेखि मिति २०८१ भाद्र २८ गते भित्र अनिवार्य रुपमा राष्ट्रिय किताबखाना (शिक्षक) मा प्राप्त हुने गरी छिटो हुने माध्यमबाट पठाउनु पर्नेछ । विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफू कार्यरत स्थानीय तहमा बुझाउनु पर्नेछ र स्थानीय तहले सो विवरण दर्ता गरी सुरक्षित राख्नु पर्नेछ । सम्पत्ति विवरण बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा पनि सम्पत्ति विवरण दर्ता गर्ने प्रयोजनका लागि यस किताबखाना खुल्ला रहनेछ ।
३. अध्ययन बिदा, असाधारण विदा र अन्य विदा, लामो काज वा निलम्बनमा रहेका शिक्षकको सार्वजनिक पद धारण गरेकै अवस्था हुने भएकोले म्यादभित्र सम्पत्ति विवरण बुझाउने दायित्व सम्बन्धित शिक्षकको नै हुनेछ ।
४. आ.व. २०८०/०८१ भित्र (अर्थात् २०८० साउन १ गतेदेखि २०८१ आषाढ मसान्तसम्म ) सेवानिवृत्त भएको शिक्षकले समेत उपर्युक्तानुसार सम्पत्ति विवरण बुझाउनु पर्नेछ ।
५. संकेत नं. नमिलेको, खाममा पूर्ण विवरण उल्लेख नगरिएको र तोकिएको मितिभन्दा पछि प्राप्त भएको सम्पत्ति विवरणलाई प्राप्त नभए सरह मानी अभिलेख राखिने छैन ।
६. हुलाकमार्फत तोकिएको अवधिभित्र प्राप्त भएको सम्पत्ति विवरण PIS प्रविष्टि गरी अभिलेख राखिनेछ । तर तोकिएको ६० दिन पछि प्राप्त सम्पत्ति विवरणलाई प्राप्त नभए सरह मानी अभिलेख राखिने छैन ।
७. सम्पत्ति विवरण फाराम यस कार्यालयको www.stro.gov.np मा उपलब्ध छ । सम्पत्ति विवरण दर्ताको जानकारी सम्बन्धित शिक्षकले उल्लेख गरेको मोबाइल नं. मा SMS वाट प्राप्त हुनेछ
