आइतवार, श्रावण ६ २०८१
साउन, ६ गते काठमाडौ । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको नेपाल फर्काउन ‘हेल्प डेस्क’ स्थापना गरेको छ । अध्ययनमा गएका नेपाली विद्यार्थीहरूले आफूहरू असुरक्षित भएको बताएपछि नेपाल फर्कने व्यवस्था मिलाउन आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।
समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ ।

सम्पर्कका लागि परराष्ट्र मन्त्रालय, काठमाडौँ शाखाका अधिकृत महेश्वरमणि त्रिपाठी, बङ्गलादेशस्थित नेपाली राजदूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई सम्पर्क गर्न भनेको छ । त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ ।
मन्त्रालयका अनुसार हालसम्म करिब ८०० नेपाली विद्यार्थी हवाई वा स्थलमार्ग हुँदै नेपाल प्रस्थान गरेका छन् । बंगलादेशका विभिन्न स्थानबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरिएको मन्त्रालयले जनाएको छ। बंगलादेशमा कोटा प्रणालीको विरोधमा हिंसा भड्किएपछि तनाव सिर्जना भएको छ । नेपालले त्यहाँ अध्ययन गर्दै आएका नेपाली विद्यार्थीलाई ल्याउने प्रयास यसअघि नै सुरु गरेको थियो।