सोमवार, श्रावण १४ २०८१
साउन, १४ गते काठमाडौ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई शिक्षामा भएका समस्या समाधान बारे अलमल्ल परेकी छन। नेपाल समाजशास्त्र सङ्घले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै मन्त्री भट्टराईले शिक्षामा अनगिन्ती समस्या भएको तर ती समस्याको समाधान कहाँबाट गर्ने ? भन्दै समाजशास्त्रीहरूलाई सोधेकी छन् ।
नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयमा सङ्घले आयोजना गरेको उक्त विचार गोष्ठीमा नेपालको उच्च शिक्षामा दलीय प्रभाव र हस्तक्षेप, शैक्षिक क्यालेण्डरको पालना, नीतिको अभाव रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफू सुधारको विन्दुको खोजीमा रहेको तर कहाँ बाट शुरुगर्ने ? उनले प्रश्न गरेकी छन।
उक्त कार्यक्रममा समाजशास्त्री प्रा.डा. गणेशमान गुरूङ, प्रा.डा. जयराज अवस्थी, प्रा.डा. गिरिधरी शर्मा पौडेल लगातका बिज्ञहरु र विभिन्न क्याम्पसका अध्यापक, शिक्षक, विद्यार्थीले उपस्थित रहेका थिए ।
शिक्षा क्षेत्र सुधारका लागि आफू शिक्षा मन्त्री भएको चर्चा गरेकी उनले विश्वविद्यालयलाई अनुसन्धानको केन्द्र बनाउने बताइन् । त्यसका लागि समाजशास्त्रीहरूलाई अनुसन्धान प्रस्ताव लिएर मन्त्रालयमा आउँदा अवरोध नहुने उनले जनाइन् ।
उनले नेपालीमा रहेका विश्वविद्यालय बीच समन्वयको अभाव र एक विश्वविद्यालयले अर्को विश्वविद्यालयबीच खेदो खन्ने कामहरू मात्र हुँदा शैक्षिक गुणस्तरमा प्रश्न उठेको सन्दर्भ जोडिन् ।
सोही कार्यक्रममा मन्त्री भट्टराईले 'विश्वविद्यालयलाई राजनीतिमुक्त गराए अर्कै समस्या समेत देखिने इंगित गर्दै तत्काल राजनीति मुक्त विश्वविद्यालयको कल्पना गर्न नसकिने' दावी गरिन् ।
आफ्नो भनाइ राखेर बाहिरिएकी मन्त्री भट्टराईलाई समाजशास्त्रका अध्यापक र विद्यार्थीले विभिन्न प्रश्न राखेका थिए । नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयमा सङ्घले आयोजना गरेको उक्त विचार गोष्ठीमा कार्यपत्र प्रस्तुत र छलफल समेत गरिएको थियो । कार्यपत्र प्रस्तोता प्रा. डा. गिरिधरी शर्माले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा निषेध गर्नुपर्ने, शिक्षामा बजेट वृद्धि गर्नुपर्ने र शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिए ।
प्रा.डा. जयराज अवस्थीले विश्वविद्यालयमा अनुसन्धान कम राजनीति बढी हुँदा त्यसको असर देखिएको बताए । उनले मन्त्री भट्टराईको जवाफ दिँदै सुरूवात शिक्षकबाट गर्नुपर्नेमा जोड दिए । उनले भने, मन्त्रीज्यूले पनि आफैबाट सुरू गर्ने हो, शिक्षकले पनि आफैबाट सुरू गर्ने हो । आफू भाइस चान्सलरको पदबाट राजिनामा दिएर विशुद्ध शिक्षण पेशामा लागेको उल्लेख गर्दै विश्वविद्यालय शिक्षामा बढ्दो निजीकरण अर्को समस्याको विषय बनेको बताए ।
आयोजक सङ्घका अध्यक्ष गणेशमान गुरूङले शिक्षा सुधारका लागि शिक्षालाई राजनीतिमुक्त बनाउनपर्ने भन्दै नेता नसुध्रि देश बन्दैन र शिक्षा मन्त्री नसुध्रि शिक्षा क्षेत्र बन्दैन, यसैले सुध्रिनु जरुरी छ ।' उनले भने।