आइतवार, श्रावण २० २०८१
साउन, २० गते आइतवार । कक्षा १२ को नतिजा सार्वजनिक भए संगै सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार बारे बहस चलिरहेको बेला रामेछप जिल्ला डहु माद्यामिक विद्यालयको नतिजा नमुना योग्य रहेको छ।
यस वर्षको १२ कक्षको परीक्षामा देशभरका कुल ४८ प्रतिशत विद्यार्थी फेल भएको बेला रामेछापको सुनापति गाउँपालिका–४ बेथानमा रहेको डहु मावि बेथानका यस वर्षको १२ कक्षाको परीक्षामा कुल १८ जना विद्यार्थी मध्ये १६ जना A+ २ जना A जिपिए ल्याएर उत्तीर्ण गरेका छन् ।
एउटा दुर्गम गाउँको सामुदायिक विद्यालयले यो नतिजा प्राप्त गर्नु चानचुने बिषय भने होइन। उक्त विद्यालयका प्रधानाध्यापक दलबहादुर बलका अनुसार डहु माविबाट यस वर्षको १२ कक्षाको परीक्षामा १८ जना विद्यार्थी सहभागी थिए । ती मध्ये १६ जना विद्यार्थी ३.६० जीपीए माथि अर्थात् ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । दुई जना विद्यार्थी ३.४९ र ३.५३ जीपीए अर्थात् ए श्रेणीमा उत्तीर्ण गरेका छन् ।
सो विद्यालयमा प्लस टुमा कम्प्युटर इञ्जिनियरिङ विषयको पढाइ हुने गर्दछ । सो विषयको परीक्षा दिएका विद्यार्थी मध्ये विनीता तामाङले सबैभन्दा बढी ३.८२ जीपीए प्राप्त गर्नुभएको छ । त्यस्तै ३.८० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या दुईजा रहेको छ । यसैगरी नौ जना विद्यार्थीले ३.७० देखि ३.७९ जीपीएसम्म ल्याएका छन् । ३.६० देखि ३.६९ जीपीएसम्म ल्याउने विद्यार्थीको सङ्ख्या चार रहेको छ ।
गाउँमा रहेको सो सामुदायिक विद्यालयले एसइई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । डहु माविका विद्यार्थीले एसईईमा समेत पटक पटक ४ जीपीए प्राप्त गरेका छन् । यस वर्षको एसईई परीक्षामा पनि सबै विद्यार्थी ए र ए प्लस ल्याएर उत्तीर्ण भएका थिए ।
विद्यालयमा स्थानीयका साथै १६ बढी जिल्लाका विद्यार्थीहरू आवासीय रूपमा बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालय देशैकै नमुना सामुदायिक विद्यालय भित्र पर्दछ ।
