आइतवार, श्रावण २० २०८१
साउन, २० गते काठमाडौ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले शिक्षकको दलगत आवद्धताले सार्वजनिक शिक्षाको गुणस्त खस्केको भन्ने कुरा कपोकल्पित भएको बताएकी छन। प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको कार्यक्रममा मन्त्री विद्या भट्टराईले शिक्षकहरुलाई झोले भनेकोमा कटाक्ष गर्दै दलगत गतिविधिमा बढ्दो सकृयताले सार्वजनिक शिक्षाको गुणस्तर खस्केको विश्लेषण गलत भएको बताएकी हुन्।
मन्त्री भट्टराईले भनेकी छन, ‘यदि शिक्षकहरू आरोपित हुँदाखेरि हामीसँग छुट्टाछुट्टै ऐनहरू छँदैछन् । यी ऐनहरूमार्फत उहाँहरू कारबाहीमा पर्ने आधारहरू अलरेडी छन् । भएका ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्छ । तर, शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, बेठिक हुन् भन्ने तिनै शिक्षकहरूले विद्यालय धान्न पर्ने कुराले मलाई लाग्छ हामीले खोजेको गुणस्तरीयता पाउन सकिँदैन । लोकप्रियता वादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन । हामी लोकप्रिय पनि हुनुपर्छ । व्यवहारिक पनि हुनुपर्छ, भट्टराईले भनेकी छन।
यस अघिकी मन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयका शिक्षकलाई दलगत आवद्धता त्याग्न निर्देशन दिएकी थिईन् । सो अनुसार ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता परित्याग समेत गरिसकेका थिए ।
शिक्षकहरु विद्यालयमा बस्नु पर्छ विद्यालयमा काम गर्नु पर्छ भन्ने कुरामा कसरी हामीले उहाँहरुलाई त्यो प्रति समर्पित गराउने भन्ने कुरा चाँही विद्यालय शिक्षा ऐन आईसके पछि त्यो ऐनलाई प्रभावकारी ढंगले लागू गर्दा स्वतः यी कुराहरु हल हुँदै जान्छन्’ उनले भनिन् ‘शिक्षक निर्देशिका अदालतमा छ । मैले अदालतको परमादेश पर्खेर बसेको छु’ उनले भनिन् केही काम उहाँले (पूर्व मन्त्री सुमना श्रेष्ठ) शुरुवात गर्नु भएको छ, तर ती नीतिगत र कानूनी हिसावले सम्पन्न गर्ने गरी हण्ड्रेड पर्सेन्ट हुने गरी भएका कुरा हैनन् ।’
मन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयकमा छलफल चलिराखेको बताउँदै उनले विधेयकमा शिक्षकको हैसियत के रहने भूमिका के रहने शिक्षक कस्तो हुनु पर्छ भन्ने कुराको मापदण्ड उल्लेख भएको बताउँदै शिक्षकहरुलाई कारवाही गर्नका लागि पर्याप्त ऐन नियम भएको दावी गरिन् ।
फरक प्रसंगमा उनले सिटिइभिटिको सम्बन्धनका बारेमा संसदीय समितिको निर्देशन र अदालतको आदेश भन्दा बाहेक सम्बन्धन दिन नमिल्ने कुरामा अडिग रहेको दावी गरिन् । २२ वटा कलेजलाई एलओआई दिईसकेको छ त्यसलाई नै गर्ने हो । मापदण्ड पुरा गर्नेले पाई हाल्छन् उनले भनिन् ।
त्यसैगरी विद्यार्थी पलायनलाई रोक्न गुणस्तर वृद्धि र विश्वास आर्जन गर्नु पर्ने बताउँदै उनले सरकारले पनि रोजगारी दिने गरी योजजा बनाउनु पर्ने बताईन् । यसका लागि विश्वविद्यालय, उद्योगी व्यवसायीहसँग बसेर छलफल गर्ने बताउँदै उनले राजनीतिक स्थायित्वले मात्र शिक्षा सुधार हुने भएकाले यो गठबन्धन बनेको तर्क समेत दिन भ्याईन् ।