आइतवार, भाद्र ९ २०८१
भदौ, ९ गते नवलपुर । मध्यविन्दु नगरपालिकामा यस शैक्षिक सत्र २०८१ बाट हाम्रो खुसी पाठ्यक्रम लागू गरिएको छ। विद्यार्थीमा जीवनको दृष्टिकोण प्रति सकारात्मक रुपान्तरण ल्याउने उद्देश्य सहित पहिलो चरणमा कक्षा एक देखि आठ सम्मका विद्यार्थीलाई लक्षित गर्दै 'हाम्रो खुसी' पाठ्यक्रम लागू गरेको हो।
कार्यक्रममा हाम्रो खुसी पाठ्यक्रमको अवधारणा, यसको निर्माण प्रक्रिया, कार्यान्वयनको चरणमा भएका अभ्यासहरुको बारेमा भिडियो सामाग्री तथा प्रस्तुतिकरण मार्फत जानकारी गराईएको थियो ।
नगरपालिकाले लागू गरेको उक्त पाठ्यक्रमले विद्यार्थीमा आत्म जागरुकता तथा मानसिक सचेतना विकास गर्ने बालबालिकाका समालोचनात्मक विचारधारा तथा शोधपरक प्रक्रिया विकास गर्ने र प्रभावपूर्ण संवाद तथा आफूलाई स्वतन्त्र एवम् रचनात्मक रुपमा व्यक्त गर्ने सिपलाई बालबालिकामा अभिवृद्धि गर्ने पाठ्यक्रमको उद्देश्य रहेको छ।
त्यसैगरी विद्यार्थीमा सम्बन्धलाई बुझ्ने एवम् सम्बन्धमा अपेक्षाहरु बुझ्ने तथा अनुभूति पूर्वक परिवारमा, साथीहरु सँग र शिक्षकहरु सँगको सम्बन्धमा प्रगाढताको सुनिश्चित गर्ने, विद्यार्थी तथा उनीहरुको वरपरको वातावरणमा तनाब एवम् र वैचारिक द्विविधाको स्थितिसँग सामना गर्न जीवनोपयोगी सिप प्रयोगमा अभिवृद्धि गर्ने, विद्यार्थीमा समाजिक जागरुकता एवम् मानवीय मूल्यसहित अर्थपूर्ण योगदानको सुनिश्चित गर्नु र शिक्षामा सार्वभौमिक प्रासङ्गिक पूर्णतावादी उपागम (स्वीकृति) विकास गर्ने उदेश्य रहेको छ।
पाठ्यक्रमको अवधारणामा भनिएको छ, 'विद्यार्थीको ध्यान संवेदनाबाट प्राप्त हुने क्षणिक खुसी तथा सम्बन्धमा स्थिर भावबाट हुने दीर्घकालीन खुसी हुँदै समझबाट प्राप्त हुने स्थायी खुसीतर्फ जानेछ' र यसबाट उनीहरु आफैमा, आफ्नो सम्बन्धमा र समाजमा तालमेलपूर्वक बाँच्न सक्षम हुनेछन्।' यस प्रयासबाट विद्यार्थीले बाहिरी संसारमा खुसी खोज्नुको सट्टा आफ्नै बुझाइ र मूल्यका आधारमा आफ्नो खुसी सुनिश्चित गर्न सक्षम हुनेछन् । यसबाट उनीहरु खुसीको याचक हुनुको सट्टा खुसीको स्रोत हुनेछन् ।'
कार्यक्रमलाई सम्बन्धोन गर्दै शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले जिवनलाई जिवनचक्रको आधारमा बुझ्न सक्नेगरी पाठ्यक्रम निर्माण नहुदाँ त्यो प्राप्त ज्ञानलाई जिवनसंग जोड्न नसकिएको बताउनुभयो । उहाँले शिक्षालाई जिवनसंग जोड्नुपर्छ भन्ने मान्यता सहित बिकास भएको यो खुसी पाठ्यक्रमले दिने विषय बस्तुले दीर्घकालिन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री भट्टराईले नगरपालिकाले कार्यान्वयनमा ल्याएको हाम्रो खुसी पाठ्यक्रमलाई राष्ट्रिय प्रारुपको रुपमा कार्यान्वयनमा लैजना तर्फ शिक्षा मन्त्रीको रुपमा आफुले भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । “यो पाठ्यक्रमको राम्रा कुराहरुलाई हामीले अनुशरण गरौं । यसलाई राष्ट्रिय प्रारुपको रुपमा कार्यान्वयनका लैजान शिक्षा मन्त्रालयले भूमिका खेल्छ । ” मन्त्री भट्टराईले भन्नुभयो – “यो पाठ्यक्रमले पारेको प्रभाव सबैका लागि अनुशरण गर्ने विषय बनोस् । आगामी दिनमा हामीले खुसी पाठ्यक्रमलाई कसरी राष्ट्रिय तहमा निर्माण गरेर जाने भन्ने कुरामा मैले नेतृत्व गर्नेछु ।”
उक्त कार्यक्रममा बोल्दै पूर्व सांसद तिलक महतले मध्यविन्दु नगरपालिकामा शुरुवात भएको नवितम् कार्यलाई क्रमशः अन्य पालिकाहरुमा समेत कार्यान्वयनमा लैजान सुझाव दिनु भएको थियो ।
त्यस्तै संविधानसभा सदस्य एवम् हाल गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जि.सि.ले गण्डकी प्रदेश सरकारको समेत सहयोग रहेको यस पाठ्यक्रमलाई राष्ट्रिय रुपमा नै कार्यान्वयन गर्न तर्फ लैजान सुझाव दिनुभयो । उहाँले शिक्षाको विषयमा आवश्यक छलफलहुन आवश्यक रहेको भन्दै मध्यविन्दु नगरपालिकामा मयेर भिमलाल अधिकारीको नेतृत्वमा शुरुवात भएको यस कार्यको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले हाम्रो खुसी पाठ्यक्रमबाट मध्यविन्दु नगरपालिकामा प्राप्त हुने सिकाई उपलब्धीलाई अध्ययन गरेर यसलाई देवचुलीमा समेत कार्यान्वयनमा लैजान आफु उत्सुक रहेको बताउनुभयो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले शिक्षाको क्षेत्रमा नयाँ कार्यको रुपमा प्रयोग ल्याएको यस पाठ्यक्रमलाई व्यवस्थित र उपलब्धी मुलक बनाउन तर्फ सबै नगरपालिका टिम क्रियाशिल रहेको बताउनुभयो । उहाँले शैक्षिक परिवर्तनका लागि एउटा प्रयासको रुपमा हाम्रो खुसी कार्यक्रम कक्ष १ देखि ८ सम्म लागु गरिएको बताउनुभयो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिकाको पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरि प्रसाद देवकोटाले विभिन्न तहगत छलफल, अध्ययन र प्रयासहरुबाट हाम्रो खुसी पाठ्यक्रम निर्माण भएको बताउनुभयो । पाठ्यक्रम निर्माण, हातेपुस्तक लेखन, सम्पादन लागयतको काममा सिंगो नगरपालिकाको शिक्षा क्षेत्र नै लागि पर्दाको उपलब्धी हाम्रो खुसी भएको बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाले २०७९ साल माघबाट हाम्रो खुसी पाठ्यक्रम निर्माणको काम शुरुवात गरेको बताउनुभयो । हाम्रो खुसी पाठ्यक्रम अनुसार निर्माण भएको शिक्षक हाते पुस्तकको सहयोगमा कक्षागत खुसी शिक्षकले विद्यार्थीहरुलाई हाम्रो खुसी अध्यापन गराउने सम्पादन मण्डलका संयोजक कृष्णचन्द्र गिरीले बताउनुभयो ।
पाठ्यक्रम लागु गर्ने सन्दर्भमा निरन्तर अध्ययन, छलफल, शिक्षक अभिभावक भेटघाट, विद्यार्थीको बुझाईको अवलोकन लगायतको काम भईरहेको हाम्रो खुसी कार्यक्रम संयोजक लक्ष्मी भट्टराईले बताउनुभयो ।
‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्नका लागि गण्डकी प्रदेश सरकार नवपर्वतक कार्यक्रम अन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रुपियाँ रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।