मंगलवार, भाद्र ११ २०८१
भाद्र ११ गते मंगलवार। मध्यपश्चिम विश्वविद्यालय (मपवि) को १५ औं सभाको बैठक सम्पन्न भएको छ। मंगलबार बालुवाटरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलि अध्यक्षता सभा सम्पन्न भएको हो।

सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति विद्या भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलज, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष अर्थ मन्त्रालयका सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लगायत विश्वविद्यालयका सभासदज्यूहरू उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयले भौतिक एवं शैक्षिक क्षेत्रमा प्रगती गर्दै समग्र कर्णाली प्रदेश र देशको शैक्षिक विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको कुरा व्यक्त गर्नुभयो। उहाँले कर्णालीको प्राकृतिक, मौलिक, सांस्कृतिक र समग्र स्रोत साधनको उच्चतम उपयोग गर्दै मध्यपश्चिम विश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रुपमा आफ्नो भूमिका खेल्नु पर्ने बताउनुभयो। साथै विश्वविद्यालयमा रहेका चुनौती र समस्या प्रति सरकार र आफु गम्भीर हुनुका साथै उचित सामाधान तर्फ आफ्नो ध्यान केन्द्रित रहेको कुरा व्यक्त गर्नुभयो।
विश्वविद्यालयको पन्ध्रौं सभामा स्वागत मन्तव्य र विश्वविद्यालयको नीति तथा कार्यक्रम मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले प्रस्तुत गर्नुभयो। साथै उहाँले विश्वविद्यालयमा २०७४ सालपछि कुनै पनि नयाँ दरबन्दी स्वीकृत नभएको तर २०७४ साल यता थुप्रै कार्यक्रम तथा विषयहरु थपिएको र विद्यार्थी संख्या बढेको भएता पनी थप दरबन्दी स्वीकृत नहुँदा आवश्यक दरबन्दी बिना नै राष्ट्रलाई लागि अती आवश्यक पर्ने प्रावधिक जनशक्ती तथा अन्य जनशक्ति उत्पादन गर्ने कार्यमा अत्यन्तै कठिनाई भएकोले आवश्यक दरबन्दी स्वीकृती कार्यादेशका लागि प्रधानमन्त्री समक्ष अनुरोध गर्नुभयो।
रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले सभाको संचालन गर्नु भएको थियो भने गत आ.व. २०८१/०८२ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव पेश गर्नुभयो । साथै सभामा आ.व. २०८१/०८२ को प्रस्तावित बजेट सहितको कार्यक्रम सम्बन्धी प्रस्ताव तथा मध्यपश्चिम विश्वविद्यालयका आर्थिक–प्रशासनिक नियमावली संशोधन सम्बन्धी प्रस्ताव पेश गरिएको थियो भने सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन ।
विश्वविद्यालयको १५ औं सभाको समापन माननीय शिक्षा मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईज्यूले गर्नुभयो।