मंगलवार, आश्विन १ २०८१
असोज, १ गते काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका विभिन्न ३० पदका लागि २५८ जनाले आवेदन दिएका छन्। विश्वविद्यालयले विभिन्न संकायमा डिन, क्याम्पस प्रमुख र सहपरीक्षा नियन्त्रक छनोटका लागि २ सय ५८ जना प्राध्यापकले आवेदन दिएका हुन ।
यसअघि त्रिभुवन विश्वविद्यालय ८ संकाय/संस्थानका डिन, १७ वटा क्याम्पस प्रमुख र ७ सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि त्रिविद्वारा गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको थियो। समितिका सचिवालयहरूले ३१ गते सोमबार दिएको जानकारी अनुसार डिन, क्याम्पस प्रमुख, सहपरीक्षा नियन्त्रक, योजना र अनुसन्धानको निर्देशक लगायत ३० पदमा नियुक्तिका लागि २ सय ५८ जनाले दरखास्त दिएका छन।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति उपकुलपति केशरजंग छुट्टाछुट्टै समितिका अनुसार आवेदनमाथि रुजु र छानबिनको प्रक्रिया जारी रहेको र आवेदकहरूमध्येबाट नियुक्तिका आधार तथा मापदण्डसम्बन्धी विनियम २०८१ का आधारमा प्रतिस्पर्धा गराएर नियुक्ति दिइने बताउनुभयो। ‘छनोट समितिले नियुक्तिका लागि सिफारिस गरेपछि कार्यकारी परिषद्ले डिन, क्याम्पस प्रमुखलगायतका पदमा नियुक्ति गर्ने छ।
स्रोतका अनुसार चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन बन्न सबैभन्दा धेरै १३ जना प्राध्यापकले आवेदन दिएका छन्। त्यसपछी इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विज्ञान, प्रविधि अध्ययन संस्थानको डिनका लागि ११-११ जनाको आवेदन परेको छ। भने मानविकी तथा सामाजिक शास्त्र संकायको डिनको लागि ९, वन विज्ञान अध्ययन संस्थान र शिक्षा संकाय डिनका लागि ८-८ जना प्राध्यापकले दरखास्त दिएका छन्। त्यस्तै व्यवस्थापन संकायको डिन बन्न ६ र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिनका लागि ५ जनाको आवेदन परेको छ। चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानको डिन आकर्षक पद मानिन्छ। यसअघि पनि यी संस्थानमा डिन बन्न पहुँचका आधारमा राजनीतिक लबिइङ हुँदै आएको छ।
त्यसैगरी त्रिवि परीक्षा नियन्त्रण केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयसहित ६ जना सहपरीक्षा नियन्त्रकका लागि ६२ जनाले आवेदन दर्ता गराएका छन्। परीक्षा नियन्त्रण कार्यालय बल्खुमा २ जना तथा क्षेत्रीय कार्यालयहरू विराटनगर, पोखरा, नेपालगन्ज र मधेश प्रदेश कार्यालयका लागि १-१ जना सहपरीक्षा नियन्त्रकका लागि आवेदन माग गरिएको थियो। त्यस्तै, त्रिवि योजना निर्देशनालयको निर्देशक र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को अनुसन्धान निर्देशकका लागि ८-८ जनाको आवेदन परेको छनोट समितिले जनाएको छ।
त्यसैगरी पाटन संयुक्त क्याम्पस र भैरहवा क्याम्पस प्रमुख बन्न १३ जनाले आवेदन दिएको छनोट समितिले जनाएको छ। पृथ्वीनारायण र रामस्वरूप रामसागर क्याम्पस जनकपुरको प्रमुखका लागि ९-९ जना प्राध्यापकले आवेदन दिएका छन्। सानोठिमी र सुर्खेत बहुमुखी क्याम्पस प्रमुखका लागि ८-८ जनाको आवेदन परेको छ। महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लागि ७, रत्नराज्य लक्ष्मी (आरआर) काठमाडौं र बुटबल बहुमुखी क्याम्पस प्रमुखका लागि ५-५ जनाले दरखास्त दिएका छन्। ललितकला क्याम्पस कीर्तिपुर, भोजपुर बहुमुखी क्याम्पस, सूर्यनारायण सत्यनारायण क्याम्पस सिराहा र विश्वभाषा क्याम्पस काठमाडौंको प्रमुखका लागि ४-४ जनाको दरखास्त परेको छ। त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा ३, वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा २ सहित डोटी बहुमुखी र जुम्ला क्याम्पस प्रमुखका लागि १-१ जनाको मात्र दरखास्त परेको छ।
विश्वविद्यालयले ९ डिन कार्यालयमध्ये कानुनबाहेक अन्य संकायको डिन नियुक्तिका लागि ३-३ सदस्यीय छनोट समिति गठन गरेको छ। छनोट समितिले दुई साताको म्याद दिएर सार्वजनिक सूचना जारी गरी इच्छुकहरुबाट आवेदन माग गरेका थिए।
छनोटसमितिले पद रिक्त भइसकेका र पुससम्म रिक्त हुने पदका लागि आवेदन माग गरेको थियो। यद्यपि माग गरिएका पदमध्ये अधिकांश यसअघि नै रिक्त छन्। विनियममा तोकिएको मापदण्डअुनसार छनोट तथा सिफारिस समितिले एक सय पूर्णाङ्कका लागि आवेदकहरुबीच प्रतिस्पर्धा गराएर नियुक्तिका लागि सिफारिस गर्ने छ।
डिन नियुक्तिपछि उनीहरुकै संयोजकत्वको छनोट समितिको सिफारिसमा सहायक डिनहरुसमेत नियुक्त गर्ने व्यवस्था छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व शान्ति तथा विकास अध्ययन, सामाजिक कार्य र लैंगिक अध्ययन विभागमा १० जनाको आवेदन परेको रेक्टर कार्यालयले जनाएको छ।
पदअनुसार प्रशासनिक, प्राज्ञिक अनुभव, अनुसन्धानसम्बन्धी लेख, प्रविधि, अनुसन्धानमूलक पुस्तक, पाठ्यक्रम निर्माण, परीक्षा तथा मूल्यांकनसम्बन्धी दक्षता र योजनामा छुट्टाछुट्टै अंक तोकी कुल एक सय पूर्णाङ्कमा प्रतिस्पर्धा हुने मापदण्ड तोकिएको छ।
अन्त्यमा अन्तर्वार्तासहित मूल्यांकन गरि ‘मेरिट’ का आधारमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने मापदण्ड छ। राजनीतिक दलको सदस्यता लिएको, भ्रष्टाचारमा संलग्न, नैतिकतामा प्रश्न उठेको र तोकिएको कार्यकालभन्दा निवृत्त हुने समय अघि भएमा नियुक्त नहुने व्यवस्था विनियममा गरिएको छ।
डिन छनोटका लागि चिकित्सामा प्राध्यापक केके ओलीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरिएको छ। इन्जिनियरिङमा जीवराज पोखरेल, शिक्षाशास्त्रमा हेमराज ढकाल, मानविकीमा नवराज कँडेल, कृषिमा कैलाश प्याकुरेल, व्यवस्थापनमा प्रेमराज पन्त, वन विज्ञानमा पीके झा र विज्ञानमा तुलसी पाठकको संयोजकत्वमा समिति गठन गरिएको छ।
आंगिक क्याम्पसहरूमा क्याम्पस प्रमुख नियुक्तिका लागि प्राध्यापक माधव दाहाल, विभाग र अनुसन्धान केन्द्रहरूमा प्रमुख नियुक्त गर्न प्राध्यापक हेमराज सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ। त्रिविमा २०४६ यता राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने अभ्यास सुरु भएको प्राध्यापकहरु बताउँछन्। २०६२/०६३ पछि थप तीव्रता पाएर अधिकांश पदमा कांग्रेस, एमाले र माओवादी बीच राजनीतिक भागबन्डाका आधारमा नियुक्ति दिन थालिएको थियो।
उपकुलपति, रेक्टर, रजिस्ट्रारदेखि सहायक क्याम्पस प्रमुख र क्याम्पसका विषयगत विभागहरुमा समेत पदहरु बाँडीचुडी नियुक्ति दिने गरिएको थियो। गतवर्ष उपकुलपति बराल, रेक्टर केसी र रजिस्ट्रार केदार रिजाल प्रतिस्पर्धाका आधारमा नियुक्त भएपछि उनीहरुमाथि अन्य पदमा पनि प्रतिस्पर्धा गराउनु पर्ने दबाब बढेको छ। उनीहरुले प्रतिस्पर्धाकै आधारमा नियुक्ति अघि बढाउने प्रतिबद्धता पनि जनाउँदै आएका छन्। प्रतिस्पर्धा भने पनि विनियमको छिद्रबाट राजनीतिक भागबन्डाकै आधारमा नियुक्ति हुन सक्ने जोखिम भने कायमै रहेको प्राध्यापकहरुको भनाइ छ।