बिहिवार, फाल्गुण १३ २०७७
सिरहाको, लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत अन्सु यादवले जानकारी दिइन् ।
कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन नगराउँदा आफूहरुको पठनपाठन प्रभावित भएको विद्यार्थीले बताएका छन् ।
विद्यालयले निजी स्रोतबाट कार्यरत शिक्षकलाइ बिगत एक वर्ष देखि तलब नदिएको स्थानीय शिक्षक शिवनारायण यादब ले बताए । उनका अनुसार तलब नपाउदा आफुहरुको घरखर्च समेत चलाउन समस्या भएको छ ।
यता विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएका गुनासो गरे ।
यसैगरी विद्यार्थीले शिक्षकहरु लाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् ।
लक्ष्मीपुर पतारी–५ का वडाध्यक्ष महेन्द्र साहले शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिकासँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने बताए । कक्षा १ देखि १० सम्म पठनपाठन हुने सो विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।