सोमवार, आश्विन ७ २०८१
असोज, ७ काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले डिप्लोमा/प्रमाणपत्र र प्रि–डिप्लोमा तहको शैक्षिक सत्र २०८१/०८२ का लागि रजिस्ट्रेसन फाराम भर्न सूचना जारी गरेको छ ।
सिटिइभिटीबाट आङ्गिक, साझेदारी, सरकारी/सामुदायिक विद्यालय र निजी स्तरमा कार्यक्रम सञ्चालनको सम्बन्धन स्वीकृति पाएका शिक्षण संस्थाहरूको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८१ को दफा २८ र प्रि– डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८१ को दफा २७ बमोजिम रजिस्ट्रेसन समयावधि २०८१ मङ्सिर १६ गतेभित्र तोकिएको हुँदा रजिस्ट्रेसन फाराम भर्न भनिएको हो ।
डिप्लोमा/प्रमाणपत्र तह र प्रि–डिप्लोमा तहका सम्पूर्ण कार्यक्रमहरूमा शैक्षिक सत्र २०८१/०८२ का लागि प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना प्रक्रियासँगै अध्ययनरत परीक्षार्थीहरूको रजिस्ट्रेसन फाराम २०८१ असोज ०७ गतेदेखि मङ्सिर ०४ गते भित्रमा नियमित शुल्कमा र मङ्सिर १३ गतेभित्र विलम्ब शुल्कमा भर्न सकिने जनाएको छ ।
तोकिएको समयभित्र रजिस्ट्रेसन फाराम नबुझाएमा पछि रजिस्ट्रेसन नहुने व्यहोरा समेन यसै सूचनाद्वारा सम्बन्धित सबैमा जानकारी गराइएको छ । अन्य विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.ctevtexam.org.np वा परीक्षा नियन्त्रण कार्यालय र परिषद्का सम्बन्धित प्रदेश कार्यालयमा सम्पर्क गर्नसक्ने छन्।
