सोमवार, आश्विन ७ २०८१
असोज, ७ गते काठमाडौ। सेन्ट लरेन्स कलेजकी छात्रा दीपिका पालले मलेसियामा आयोजित एसिया प्यासिफिक सम्मेलन युवा वैज्ञानिक (यङ्ग साइंटिस्ट्स २०२४) प्रतिस्पर्धामा दोस्रो स्थान हात पारेकी छन् । दीपिकाले लाइफ साइन्सेस (जीवविज्ञान) विधामा (मीट लीफ : ल्याब कल्चर्ड मीट) शीर्षकमा उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गरेकी हुन ।

विभिन्न मुलुकका युवा वैज्ञानिकहरू बीचकोे यस प्रतिस्पर्धामा दीपिकाले उत्कृष्ट नतिजा निकालेर सेन्ट लरेन्स कलेजको शैक्षिक स्तरलाई पुनः एक पटक प्रमाणित गरेकी छन् । सेन्ट लरेन्स कलेजले सफलता गरेकोमा छात्रा दीपिका पाललाई बधाई दिदै कलेजले भविष्यमा पनि अन्तर्राष्ट्रिय स्तरमा यस्ता अवसरहरूमा निरन्तर अन्य विद्यार्थीहरुलाई सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कलेजले हासिल गरेको यो सफलताले अरू बिद्यार्थीहरुलाई पनि सफलता हासिल गर्न, मिहेनत गरेर अघि बढ्न उत्प्रेरणा जगाएको कलेजका अध्यक्ष केशवप्रसाद दंगालले बताउनुभयो। त्यसैगरी सेन्ट लरेन्स कलेज विज्ञान र प्रविधिमा नवीनतम अनुसन्धान र प्रयोगात्मक सिकाइमा विश्वास राख्दै विद्यार्थीहरूलाई अग्रणी बनाउन कटिबद्ध रहेको कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले बताउनुभयो।

युवा वैज्ञानिक (यङ्ग साइंटिस्ट्स २०२४) प्रतिस्पर्धा मलेसियाको बायोउ लागुन पार्क रिसोर्ट, मलेका सहरमा१५ देखि १९ सेप्टेम्बर २०२४ मा सम्पन्न भएको थियो ।