शुक्रवार, आश्विन १८ २०८१
असोज, १८ गते, काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परिक्षामा उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ मा भर्ना पाउनै समस्या भएको छ। एसईई नियमित तर्फ अनुत्तीर्ण भई दोस्रो चरणको परीक्षा (ग्रेड वृद्धि) बाट उत्तीर्ण भएका परीक्षार्थीलाई भर्ना पाउन समेत मुस्किल भएको हो।
राष्ट्रिय परीक्षा बोर्डले एसइई ग्रेड वृद्धि परीक्षाको नतिजा असोज ७ गते सार्वजनिक गरेको थियो। नतिजा अनुसार ५६.७८ प्रतिशत विद्यार्थीउत्तीर्ण भएका थिए। अर्थात् एक लाख १० हजार नयाँ विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य ठहरिएका थिए।
असार तेस्रो साता सार्वजनिक भएका एसइईको नतिजा अनुसार उत्तीर्ण भएका विद्यार्थीका पढाइ सञ्चालन भएको दुई महिना पूरा भइसकेको छ। ग्रेड वृद्धिबाट उत्तीर्ण भएका विद्यार्थीका लागि भने बल्ल कक्षा ११ मा भर्नाको प्रक्रिया सुरु भएको छ। जबकि साउनमा भर्ना भएका विद्यार्थीको भने सम्बन्धित स्कुलले २५ प्रतिशतभन्दा बढी कोर्स पढाइसकेका छन्। उनीहरूका लागि प्रथम त्रैमासिक परीक्षा पनि सुरु भइसकेको छ। सबैजसो स्कुलले यो परीक्षा दसैँअघि नै सम्पन्न गर्दै छन्। नयाँ विद्यार्थीका लागि भने भर्ना सकिए पनि पढाइ भने तिहारपछि मात्रै हुने छ तर दुवै थरी विद्यार्थी (असार तेस्रो साता उत्तीर्ण भएका र ग्रेड वृद्धि परीक्षामा उत्तीर्ण भएका) को वार्षिक परीक्षा भने एकै पटक सञ्चालन हुने छ।
त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्राचार्य हेरम्बराज कँडेलले ढिलो गरी भर्ना हुन आउने विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि सिकाइ उपलब्धिमा कमी हुन नदिने बताएका छन् तर एउटै कक्षामा दुई थरी विद्यार्थी हुँदा पठनपाठन गराउँदा शिक्षक ब्यबस्थापनमा समस्या पर्ने उनले बताए।
त्यसैगरी कैयौ विद्यालयहरुले भने ब्यबस्थापन पढ्ने विद्यार्थी भर्ना गरेपनी बिज्ञान पढ्न चाहने विद्यार्थीहरुलाई भने भर्ना गर्न नसकिने भन्दै फर्काउने गरेको गुनासो आईरहेको छ। दुई महिना पढाइ भई सकेको र नयाँ विद्यार्थिले बिज्ञान पढ्न नसक्ने साथै त्यसले नतिजामा समस्या पार्ने भएर बिज्ञान पढ्न चाहने विद्यार्थीहरुलाई फर्काउने गरेका छन्।
काठमाडौँ महानगरपालिकाले ढिलो भर्ना हुने विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषयमा छलफल गरिरहेको तर ठोस योजना नबनेको जनाएको छ । महानगरपालिकाका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले भने, 'उनीहरूलाई अतिरिक्त कक्षा सञ्चालन गरेर वा छुट्टै सेक्सन बनाएर भए पनि पढ्न व्यवस्था मिलाउनु पर्छ। सम्बन्धित विद्यालय र शिक्षकको परामर्शमा योजना बनाउँछौँ।' शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि ग्रेड वृद्धि परीक्षाबाट उत्तीर्ण भएका परीक्षार्थीको सिकाइ सुधारका लागि के गर्ने भन्ने विषयमा अहिलेसम्म ठोस योजना बनाउन सकेको छैन। विद्यार्थीले दोस्रो पटक परीक्षा दिएर उत्तीर्ण हुनु नै मौका भएकाले पढाइमा पनि उनीहरूले थप मेहनत गरेर अरू सरह सिक्नुपर्ने बताए । उनले भने, 'नयाँ भर्ना हुने विद्यार्थीको सङ्ख्या हेरेर सम्बन्धित विद्यालयले नै कसरी पढाउने भन्ने योजना बनाउनु पर्छ।'
यसअघि एसइईमा ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था भएका कारण एक लाख १० हजार विद्यार्थी कक्षा ११ मा भर्नाको लागि योग्य भएका थिए।