सोमवार, मंसिर १७ २०८१
मंसिर, १७ गते काठमाडौ। स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले यसैवर्षबाट मौका परीक्षा दिन पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालयले उक्त व्यवस्थाको लागि केही दिनमै सूचना प्रकाशित गर्ने जनाएको छ।
त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालका अनुसार यी परीक्षामा दुई विषयसम्म फेल (अनुत्तीर्ण) भएकाले तत्कालै मौका परीक्षा दिन पाउनेछन्। त्रिविले मौका परीक्षाको लागि आवेदन फाराम भर्न केही दिनमै सूचना प्रकाशित गर्ने उनले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयले अहिले धमाधम स्नातक चौथो वर्षको विभिन्न संकायको नतिजा प्रकाशन गर्दै आएको छ। त्रिविले मानविकी तथा व्यवस्थापन संकायतर्फको बिए चौथो वर्षको नतिजा मंसिर १४ गते प्रकाशित गरेको थियो। त्यस्तै आइतवार शिक्षाशास्त्र संकायतर्फ सञ्चालित चारवर्षे बिएडको नतिजा प्रकाशित गरेको छ।
त्रिवि प्राज्ञिक परिषद्ले गत साउनमै स्नातक तहअन्तर्गत अन्तिम वर्षको परीक्षामा विद्यार्थीले मौका परीक्षा दिन पाउने निर्णय गरेको थियो। तर,कहिलेबाट उक्त व्यवस्था लागू हुने भन्नेमा विद्यार्थीहरूमा अन्योलता थियो। तर,अब उनीहरूले तत्कालै मौका परीक्षा दिन पाउने भएका छन्।