बुधवार, मंसिर १९ २०८१
मंसिर, १९ गते इलाम। सूर्योदय नगरपालिकामा ५ औँ गणित तथा विज्ञान प्रदर्शनी एवम् प्रतियोगिता सम्पन्न भएको छ। "सोच, सृजनात्मकता र आविष्कार : विद्यालय शिक्षाको उपहार" भन्ने मुल नाराको साथ ५ औँ गणित तथा विज्ञान प्रदर्शनी एवम् प्रतियोगिता सम्पन्न भएको हो।
सूर्योदय नगरपालिकाको प्रमुख रण बहादुर राईले उद्घाटन गरेको उक्त प्रदर्शनी तथा प्रतियोगिता मंसिर १४ र १५ गते दुई दिनसम्म चलेको थियो। साथै प्रदर्शनी एवम् प्रतियोगितामा नगर प्रमुख रण बहादुर राईले पुरस्कार वितरण गर्नुभएको थियो।
नगरभित्रका सामुदायिक तथा संस्थागत गरि २६ वटा आधारभूत र माध्यमिक विद्यालयहरुले प्रदर्शनीमा २२२ वटा परियोजना प्रदर्शन गरेका थिए । प्रदर्शनीमा आधारभूत र माध्यमिक तर्फका गणित, विज्ञान र विविध खोजमूलक प्रदर्शनी गरेका थिए ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई नगरपालिकाले रु १ लाख ९० हजार बराबरको नगद पुरस्कार प्रदान गरेको छ । नगरपालीकाले सामुदायिक विद्यालयहरुलाई तयारी अनुदान बापत नगद एक लाख र सामुदायिक र संस्थागत विद्यालयहरुलाई यातायात खर्च बापत नगद ४ लाख प्रदान गरेको छ ।