बुधवार, पौष ३ २०८१
पुस, ३ गते काठमाडौँ। शिक्षा मन्त्रालयको सहकार्यमा रातो बंगाला फाउन्डेशनले गुणस्तरीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पुस ५ देखि ७ गतेसम्म ललितपुरमा हुने ३ दिने सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, पढाइ र सिकाइ, पूर्वप्राथमिक शिक्षा, प्रविधि र नवप्रवर्द्धन, जलवायु परिवर्तन र शिक्षा र समावेशीकरण र समाजिक भावनात्मक विकास विषयमा छलफल हुने आयोजकले जनाएको छ।
फाउन्डेसनले तेस्रो संस्करणका रुपमा सम्मेलन आयोजना गर्न लागेको हो। यसअघि सन् २०१३ र २०१९ मा सम्मेलनको आयोजना गरिएको फाउन्डेसनले अध्यक्ष शान्ता दीक्षितले जनाइन्। 'शिक्षालाई गुणस्तरीय बनाउने उपायहरुको खोजी गर्न सम्मेलन आयोजना गरिएको हाे ' उनले भनिन्, ‘देश विदेशका नीति निर्माता अनुसन्धानकर्ता र शिक्षामा आबद्ध सरोकारवालाबीच संवाद गरी गुणस्तरीय शिक्षा बनाउने उपायको खोज सम्मेलनले गर्छ,’।
शिक्षाको अवस्थाको समीक्षा गर्दै अन्तराष्ट्रिय स्तरको शिक्षा बनाउन सम्मेलनबाट आएका सुझावहरू प्रतिवेदन बनाएर सरकारलाई बुझाउने फाउन्डेसनले जनाएको छ। ‘सम्मेलनको उद्देश्य शिक्षाको गुणस्तरको विषयमा छलफल गरी शिक्षामा भएका कमीकमजोरीहरु निवारण गरेर कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु हो,’ फाउन्डेसनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपालको भावी शिक्षा प्रणालीलाई सकारात्मक मोड दिनु सम्मेलनको लक्ष्य रहेको जनाइएको छ। सम्मेलनमा देश र बिदेशका गरी ५ सयभन्दा बढी शिक्षाकर्मीहरुको सहभागिता रहने जनाइएको छ। ६३ वटा सत्रमा छलफल गरेर प्रतिवेदन तयार गरिने दीक्षितले बताइन्। शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले सम्मेलनपछि प्राप्त सुझावले शिक्षा प्रणालीमा सुधार गर्न सरकारलाई सहयोग पुग्ने जनाए।