मंगलवार, पौष ९ २०८१
काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार भनिएकी श्रीमती अञ्जला कोइरालाको बिदा थप गरिदिन माग गर्दै सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले विद्यालयलाई पत्र लेखेका छन् । उनले आइतबार विराटनगरस्थित महेन्द्र रात्रि माविकी विद्यालयका प्रधानाध्यापक झकप्रसाद पराजुलीलाई पत्र पठाएर पोखरेलले श्रीमती अञ्जलाको बिदा थप्न माग गरेका हुन् ।
सभापति पोखरेलले श्रीमतीको अनिश्चितकालीन बिदाका लागि भर्चुअल्ली पत्र विद्यालयमा पठाएको बताइएको छ। पराजुलीले पनि पत्र आइपुगेको पुष्टि गरेका छन् । अञ्जला उक्त विद्यालयकी स्थायी शिक्षक हुन् ।
यसअगाडि गत मंसिर २७ गते अञ्जला विद्यालयमा हाजिर भएकी थिइन । प्रअ पराजुलीका अनुसार उनले मंसिर २८ गते शुक्रबार हाजिर गरेर विद्यालय उपस्थित छैनन् ।
त्यसपछि सोमबारबाट लागु हुने गरी ५ दिनको बिदासम्बन्धी पत्र विद्यालयलाई लेखेर अञ्जला सम्पर्कमा नआएको प्रअ पराजुलीले बताएका छन् । उँधौली पर्व भएकाले मंसिर ३० गते आइतबार विद्यालय बन्द थियो । त्यसपछि सोमबारदेखि लागु हुने गरी लिएको ५ दिनको बिदा पनि शुक्रबार सकिएको छ ।
त्यसपछि अञ्जलाका श्रीमान् ऋषिकेशले आइतबार ७ गतेदेखि लागु हुने गरी अनिश्चितकालीन बिदाको पत्र विद्यालयलाई पठाएको पुष्टि प्रअ पराजुलीले गरेका छन् ।
‘म अहिले सुनसरीको इनरुवामा प्रअ तालिममा छु । पत्र आइतबार देखि लागु हुनेगरी आएको छ । यति दिन बिदा भनेर लेखिएको छैन । बिरामी बिदा भनेर लेखिएको छ’,पराजुलीले मंगलबार खबरहबलाई भने, ‘अनिश्चितकालीन बिदा भनेर लेखिएको छ । हस्ताक्षर र भूमिका सबै अञ्जला म्यामको छ । तर उक्त पत्र मलाई ऋषिकेशले पठाउनुभएको हो ।’
अञ्जलाविरुद्ध गत मंसिर २७ गते बिहीबार मुद्दा दर्ता भएको थियो । उमा-गौरी सहकारी सहकारी संस्थामा भएको ठगीबारेमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी फरार छिन् ।
उक्त सहकारीकी पूर्व सञ्चालक कोइराला फरार भएको जानकारी श्रीमान् पोख्रेलले सोमबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बताएका थिए ।