सोमवार, पौष १५ २०८१
पुस, १५ गते, काठमाडौ। त्रिभुवन विश्वविद्यालय र धर्नामा बसेका स्ववियु सचिव सिद्धान्त भट्टबिच ३१ बुँदे सहमति भएको छ । मंसिर १६ गतेदेखि त्रिवि उपकुलपतिको कार्यकक्ष बाहिर धर्नामा बसेका भट्टसँग आइतबार सहमति गरिएको हो ।
सहमतिपछि भट्टले धर्ना स्थगित गरेका छन् । यसअघि विश्वविद्यालय सुधारकाे माग अघि सारेर अनेरास्ववियुका त्रिवि अध्यक्ष समेत रहेका भट्ट उपकुलपति प्राडा केशरजंग बरालकाे कार्यकक्ष बाहिर २४ घण्टे धर्नामा बसेका थिए ।
त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक उन्नयन र उत्कृष्टताको केन्द्र बनाउने अभिप्रायका साथ विश्वविद्यालय सुधारका लागि विभिन्न मागहरु पेश गर्दै उहाँले विद्यार्थीहरुको साझा प्रतिनिधिको रुपमा सबै विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा समग्र विश्वविद्यालय सुधारको मागहरु कार्यान्वयनका लागि दबाब दिदैँ धर्ना बस्दै आएका थिए।
त्रिविका अनुसन्धान केन्द्रहरु (CNAS, CERID, CEDA, RECAST) लाई विद्यार्थीसँग जोड्न तहाँ कार्यरत प्राध्यापकहरुले अनिवार्य रुपमा आफू सम्बद्ध विभागमा अध्यापन गराउनुपर्ने व्यवस्था गर्नुपर्ने, नेपाल सरकारका लागि आवश्यक नीति तर्जुमा गर्न र व्यवसायिक परामर्श सेवा दिन बिशिष्ट र विज्ञ प्राध्यापक, मेधावी विद्यार्थी र कुशल कर्मचारीको सहभागिता रहने गरी अध्ययन केन्द्रहरुको समन्वयमा त्रिवि नीति अध्ययन केन्द्र स्थापना गर्नुपर्ने, राष्ट्रिय स्तरका सरकारी व्यवसायिक परामर्श सेवा ४ वटै अध्ययन केन्द्रले गर्न पाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका थिए।





