बुधवार, पौष २४ २०८१
पुस, २४ महोत्तरी । अत्यधिक जाडो बढेपछि महोत्तरी जिल्लाको विभिन्न नगरपाकिकाले विद्यालय एक साता बन्द गरेका छन् । विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका हुन्।
जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी महोत्तरी सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा गाउँपालिकाले पुस २९ गतेसम्म र सोनमा र एकडारा गाउँपालिकाले आगामी माघ १ गतेसम्मका लागि विद्यालय बन्द गरेका छन् ।
साना बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेपछि १० नगरपालिका र पाँच गाउँपालिका रहेका महोत्तरीका पाँच वटा पालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द भएको जनाएका छन् ।
तराई मधेसमा विगत दुई–तीन दिनदेखि एक्कासि शीतलहर र चिसो हावा चल्न थालेपछि कठ्याङ्ग्रिदो र असहनीय जाडो भएर जनजीवन प्रभावित बनेको छ । असहनीय जाडोका कारण स–साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।