Jul 27 2026 | २०८३, श्रावण ११ गते

पाठ्यक्रम बिकास केन्द्रद्वारा विभिन्न पाठ्यक्रम स्वीकृत

पाठ्यक्रम बिकास केन्द्रद्वारा विभिन्न पाठ्यक्रम स्वीकृत

  • 1.0K
    SHARES

  • पाठ्यक्रम बिकास केन्द्रद्वारा विभिन्न पाठ्यक्रम स्वीकृत

    पौष २५ गते/ काठमाडौँ। पाठ्यक्रम विकास केन्द्रमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को महत्वपूर्ण बैठकले विभिन्न पाठ्यक्रम स्वीकृत गरेको छ। परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले माध्यमिक तह (कक्षा ९-१०) को इतिहास र वातावरण विज्ञानको पाठ्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर १५ दिन भित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन गरेको हो।

    बैठकमा विभिन्न प्रस्तावहरूमा गहन छलफल भएको छ, जसले विद्यालय शिक्षाको पाठ्यक्रमलाई थप समसामयिक र विद्यार्थीमुखी बनाउने लक्ष्य समेत राखेको छ ।

    विज्ञहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यता कुन हो जस्ता दृष्टिकोणबाट इतिहास विषयको पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

    वातावरण विज्ञानको पाठ्यक्रममा नेपालको विविधताको संरक्षण, हिमाल पग्लने समस्या, चुरेको समस्या र जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई विद्यार्थीले कसरी समाधान गर्न सक्छन् भन्ने विषयहरू पाठ्यक्रममा समावेश गरिनुपर्छ भन्ने सुझाव दिनु भएको छ ।बैठकबाट मातृभाषातर्फ आधारभूत तह (कक्षा ६-८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस गरिएको छ ।

    बैठको निर्णयानुसार विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा रहेका ऐच्छिक विषयको समूह मिलान गरिएको छ जस अनुसार माध्यमिक तह कक्षा (९-१०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र तीन समूहमध्ये कुनै दुई समूहबाट एक एक ओटा विषय छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।

    यसैगरी विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार माध्यमिक तह कक्षा (११- १२) मा ऐच्छिक तेस्रो समूहमा रहेको १४ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरुको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट विद्यार्थीले कुनै तीन विषय लिन पाउने भएका छन् ।

    बैठकले निर्णय गरेअनुसार माध्यमिक तह कक्षा (११-१२ को ऐच्छिक दोस्रो समूहमा रहेको जनसङ्ख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको Gerontology and Care Taking Education विषयलाई दोस्रो समूहमा राखिएको छ ।

    अब विद्यार्थीले आफ्नो इच्छाअनुसार पाँचओटा समूहमध्ये कुनै तिन ऐच्छिक विषय रोज्न पाउने छन् । त्यस्तै विद्यार्थीको मूल्याङ्कनमा घरायसी तथा दैनिक जीवनमा गरेका कार्यहरू पनि समावेश हुने भएको छ ।

    बैठकले विद्यार्थीको घरायसी एवम दैनिक जीवनका कार्यलाई आधारभूत तह कक्षा (६-८) तथा माध्यमिक तह कक्षा (९-१०) को आन्तरिक मूल्याङ्कनमा समावेश गर्न आवश्यक छलफल र आवश्यक तयारी गरी परिषदमा पेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई सैद्धान्तिक सहमति दिएको छ। साथौ बैठकले लिएका यी निर्णयहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने र पाठ्यक्रमलाई समयसापेक्ष बनाउने अपेक्षा गरिएको छ ।

    images
    बिहिवार, पौष २५ २०८११२:४१:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार