आइतवार, पौष २८ २०८१
पुस, २८ गते/काठमाडाैँ। देशैभरी करिब २२ सय विद्यालय संस्था भएको निजि विद्यालयहरूको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)को २७ औँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ। शनिवार काठमाडाैँको पुरानो बानेश्वर स्थित सिद्धार्थ फुड्ल्याण्डमा नेशनल प्याब्सन काठमाडाैँ जिल्ला समितिले एक शैक्षिक अन्तरक्रिया गर्दै नेशनल प्याब्सनको २७ औँ स्थापना मनाएको हो।

अन्तरक्रिया कार्यक्रममा नेशनल प्याब्सन काठमाडाैँका अध्यक्ष अमृत कुमार खड्काको सभापतित्व तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको प्रमुख आतिथ्यता र नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले विशेष उपस्थिति रह्यो ।

कार्यक्रममा बोल्दै परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । राज्यले निजि तथा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई एउटै दृस्ठिले हेर्नुपर्ने तर पैसा तिर्न नस्क्ने बालबालिकाहरुलाई भने विशेष किसिमले प्राथमिकता राख्नुपर्ने बताउनुभयो। जबसम्म हामिले शिक्षण सिकाइलाई परिवर्तन गर्न सक्दैनौ तबसम्म हाम्रो नतिजा राम्रो आउदैन। अध्यक्ष शर्माले भन्नुभयो, त्यसकोलागी शिक्षक क्वालिफाइड हुनुपर्यो र शिक्षकलाई तालिम पाठ्यक्रम अनुसार तालिम प्रदान गर्नुपर्छ। शिक्षामा सबैभन्दा महत्वकुरा शिक्षक हो। राम्रो शिक्षक बाट मात्रै राम्रो शिक्षा दिन सकिन्छ। क्वालिटि लर्निङ भयो भने क्वालिटी एसिस्मेन्ट पनि हुन्छ अध्यक्ष शर्माले भन्नुभयो।

अध्यक्ष शर्माले नेपालमा विद्यार्थीले खोजेको शिक्षा नभएको भन्दै आफ्नै देशमा उद्धम गर्न र त्यो अनुरुप चेतना निर्माण गर्न राज्यले नेपालको माटो सुहाउँदो पाठ्यक्रममा निर्माण विशेष जोड दिनुपर्ने बताउनुभयो। हाम्रो शिक्षाको उदेश्य नै बाहिर जाने भन्ने भयो, त्यसलाई बदलौ। त्यसको नेतृत्वदायी भुमिका निर्वाहगर्न निजि विद्यालयहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो । साथै विद्यालय चलाउने मामिलामा निजि क्षेत्र पारदर्शी हुनुपर्ने अध्यक्ष शर्माले बताउनुभयो।

राज्यले निजी विद्यालयको लगानी फिर्ता गरि राष्ट्रियकरण गर्ने सक्ने अवस्थामा नभएको प्रष्ट पार्दै अध्यक्ष शर्माले निजी विद्यालयले आफ्नो क्षमता देखाएर विद्यार्थीको आकर्षण बढाएकोले आफ्ना बालबालिकाको लागि विद्यालय छनोट गर्दा निजी रोज्ने कि सामुदायिक रोज्ने त्यो अभिभावकको अधिकारको कुरा भएको बताउनुभयो। त्यसमा अभिभावकहरुले सामुदायिक मात्रै रोज्नुपर्ने भन्ने कुरा उपयुक्त नहुने समेत शर्माले बताउनुभयो ।

निजी विद्यालयले कक्षा १० र १२ का विद्यार्थीको नतिजाको प्रसंसा गर्दै लिडरसिप राम्रो भएको ठाउमा नतिजा पनि राम्रो राम्रो आउने गरेको अध्यक्ष शर्माले बताउनुभयो। विद्यार्थीलाई घोकेर उत्तर लेख्ने भन्दा पनि व्यवहारिक उत्तर दिने वानीको विकास गर्नुपर्ने र त्यसको लागि विद्यालयसँग अभिवाकको सम्बन्ध राम्रो हुनुपर्छ अध्यक्ष शर्माले भन्नुभयो ।

संसारमा प्रविधिको अत्यन्तै धेरै बिकास भएको छ। प्रविधिको प्रयोगले आजको विद्यार्थीलाई एडभान्स बनाएको छ। आजको विद्यार्थी Alfa generation को हुन्। उनिहरुलाई त्यो अनुरुपको शिक्षा दिनुपर्ने भन्दै बढ्दो प्रविधिमा च्याटजिपीटी जस्ता प्रविधिमा विद्यार्थी लाग्नबाट पनि जोगााउनुपर्ने बताउनुभयो।
त्यसैगरी अध्यक्ष शर्माले एसईई परिक्षा प्रदेश स्तरमा हुनुपर्छ भन्ने छलफल चलिरहेको बताउनुभएको छ। कक्षा ८ लाई स्थानीय तहमा र कक्षा १० लाई प्रदेश स्तरमा चलाउने छलफल भईरहेको छ। कक्षा ८ बाट एकैपटक कक्षा १२ मा बोर्ड दिँदा हाम्रो विद्यार्थीको गुणस्तर घट्छ अध्यक्ष शर्माले भन्नुभयो। त्यस्तै रजिष्ट्रेसन कक्षा ९ मा भएर १२ सम्म त्यही कायम राख्ने छलफल भइरहेको बताउनुभयो।

कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष सुवासचन्द्र न्यौपानेले ७० प्रतिशत विद्यार्थी सामुदायिक तथा ३० प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययन गरिरहेकोले निजी तथा सामुदायिक भन्नुभन्दा पनि शैक्षिक उन्नतीमा जोड दिनुभयो । राज्यले निजि तथा सार्वजनिक भन्नु भन्दापनी समग्र शिक्षाको स्तर उन्नतिमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

सामुदायिक र निजि भनी छुट्याउनु हुदैन। Skill based service कहिले नि:शुल्क हुदैन। राज्यकोषबाट संचालित विद्यालय पनि नि:शुल्क होइन। दुई किसिमको शिक्षा भयो त्यो अनुरुप नागरिक उत्पादन भयो भन्नेकुरा गलत हो। बोर्ड एउटै हो परीक्षा एउटै हो। कसरी फरक भयो? अध्यक्ष न्यौपानेले प्रश्न गर्नुभयो।
संगठनको बारे बोल्दै अध्यक्ष न्यौपानेले संगठनभित्र केहि समस्या देखिएपनि यसलाइ सुधार गर्न, व्यवस्थित गर्न सकारात्मक सोचका साथ सबै पदाधिकारी सक्रिय हुनुपर्ने बताउनुभयो । हामिले इमान्दारीता र नैतिकता देखाउन नसक्दा समस्या आयो। समस्या आउनुभनेको नयाँ किसिमले समाधन हुनुपनी हो अध्यक्ष न्यौपानेले भन्नुभयो। माघ २ र ३ गते पोखरामा हुने बृहत विस्तारित बैठकमा सहभागी हुन सदस्य विद्यालयलाई आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै नेशनल प्याब्सन केन्द्रीय समिति उपमहासचिव प्रकाश खड्काले संगठनमा अवसर र चुनौतीहरु दुबै रहेको बताउनुभयो। संगठनका हिसावले हामी दु:खमा छौ तर नितिको हिसावले हामी नयाँ काम गर्दैछौं उपमहासचिव खड्काले भन्नुभयो। साथै संगठनले एक भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत प्रष्ट पार्नुभयो ।

नेशनल प्याब्सनका कारणले माफिया भन्न छोडेका छन। हामी अलि कमजोर भएका छौ। तर यसलाई हामी बचानु छ। हाम्रो संगठन अब सदस्य विद्यालयमा जानुपर्छ । त्यहाबाट संगठनमा समाधान खोज्नुपर्छ, उपमहासचिव खड्काले भन्नुभयो।
संगठनको आन्तरिक किचलो बारे बोल्दै रारा बैठकमा छ महिना थप्ने भए थपौ तर लेखौ यसबारे भन्ने भनेको हो। मैले सुवासलाई उचालेको होइन। केही नेतृत्वको गलत निर्णयको कारण संगठन कमजोर भएको र बिबाद आएको बताउनुभयो। हामिले शिक्षामा काम गरेको हो। आज नैतिक रुपमा हामी कमजोर भयौं । सत्य बोल्न नसक्दा हामी कमजोर बन्यौं। हामी शुद्धिकरणमा जाऔँ। हामी हाम्रो शक्तिलाइ चिनौ र सुदृढीकरणको लागि लागौं। उपमहासचिव खड्काले भन्नुभयो।
कार्यक्रम समापन समारोहमा आफ्नो धारणा राख्दै नेशनल प्याब्सन काठमाडाैँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले संस्थागत विद्यालयको हक हितका लागि आफुहरु सधै अग्रपंक्तिमा रहेको बताउनुभयो ।

कार्यक्रममा नेशनल प्याब्सन काठमाडाैँ जिल्ला अन्तर्गतका विभिन्न नगर अध्यक्षहरुले समेत आ–आफ्नो धारणा राखेका थिए । भने कार्यक्रम संचालन नेशनल प्याब्सन काठमाडौ जिल्ला सचिव रामबाबु सेढाइले गर्नुभएको थियो।

कार्यक्रममा नेशनल प्याब्सनका सचीव बिष्णु पराजुली, केन्द्रिय सदस्य मनोज श्रेष्ठ, खडक बहादुर केसि, प्रदेश अध्यक्ष नारायण कर्मा कार्की लगाएत जिल्ला पदाधिकारी, नगर अध्यक्षहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को स्थापना २०५५ सालमा (सन् १९९८) भएको थियो। यसको स्थापना पछि, यस संघले शैक्षिक क्षेत्रका विभिन्न चुनौतीहरूको सामना गर्न, विद्यालयहरूको प्रशासनमा सुधार ल्याउन र शिक्षण कार्यमा गुणस्तर वृद्धि गर्नका लागि विभिन्न पहलहरू गरिरहेको छ।
नेशनल प्याब्सनले शिक्षाबद्ध विधिहरू र प्राविधिक विधिहरूको विकासमा सहयोग गर्दै, शिक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ भने नेपालको शैक्षिक नीति निर्माण प्रक्रियामा पनि सक्रिय भाग लिदै र शिक्षालाई समुन्नत बनाउन विभिन्न सरोकारवालासँग सहकार्य गर्दै आएको छ।