बिहिवार, माघ ३ २०८१
माघ, ३ गते/काठमाडौं । जनसंख्याविद् दामोदर ज्ञवालीले अधिकृत पदको लागि शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको जनसंख्याविद्हरूसंगको छलफलका क्रममा ज्ञावालिले अधिकृत हुन चाहिने शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरेका हुन् ।
‘स्नातकोत्तर गरेकालाई मात्रै अधिकृत हुन सक्ने राखौं । ताकि सेवा प्रवेशपछि बढुवाका लागि पढिरहने अवस्था रहन दिन हुँदैन,’ ज्ञावालिले भने ।
निजामती कर्मचारीमा सेवा प्रवेश खुला राख्न पनि उनको सुझाव छ । ‘सेवा प्रवेशमा किन उमेरको सीमा तोक्ने ? यो खुला राखौं । बरु योग्यता र क्षमता तोकौं । उमेरको सीमा नराखौं,’ उनले भने ।
युवा अफिसर भनेर त्यसमा उमेर राख्ने हो भने त्यो भने पाच्य नहुने उनले बताए । तर सबैलाई उमेरको सीमा राख्न नहुने उनको सुझाव छ ।
उनी भन्छन्, ‘म आफैं यूएनको एउटा कार्यक्रममा काम गर्न फारम भरिरहेको छु । ५५ वर्ष भएँ । यूएनले काम गर्न सक्ने अवस्था, योग्यता र क्षमता राखेर सेवा लिन्छ । यस्तो हामीले पनि किन नगर्ने ?’
संघीय निजामती सेवा विधेयक हाल राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ ।