बुधवार, माघ ३० २०८१
माघ, ३० गते/ कैलाली। शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै शिक्षाविद् डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ। धनगढी उपमहानगरपालिकाको संयोजनमा आयोजित कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा. डा. पन्तलाई पन्तलाई बाजागाजासहित रथारोहण गरी सम्मान गरिएको हो।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले माला, खादा, र सम्मानपत्र प्रदान गर्दै पन्तको योगदानको प्रशंसा गरे। शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको नगर प्रमुख गोपाल हमालले बताए।
उनले कैलाली वाणिज्य क्याम्पसको स्थापना तथा विकासमा पन्तको महत्वपूर्ण भूमिका रहेको उपमहानगर प्रमुख हमालको भनाई थियो।
पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए। पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन थालेका हुन्। १४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो।
भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए। प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदरमा रहेर काम गरेका छन्। डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका छन्।

सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौँ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ। हेमराज पन्तका बुवा खगेन्द्र नाथ आयुर्वेदाचार्य थिए। हेमराज जन्मिएको वर्ष उनका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख थिए। बुवाको सरुवा डडेल्धुरा भएपछि पन्तको प्रारम्भिक शिक्षा त्यही भएको थियो।
उनले ८ कक्षासम्मको पढाइ उच्चाकोटकै सीताराम माविबाट पूरा गरेका थिए। दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास परेका पन्तले त्रिचन्द्र कलेजबाट २०३१ सालमा आइकम गरे। उनले शंकरदेव क्याम्पसबाट विकम गरे। २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गरे।
२०३१ सालमा १९ वर्षको उमेरमा सरस्वती ओझासँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा र एक छोरी छन्। २०६८ सालमा सरकारले महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको स्थापना भयो।
उनी त्यसको रजिस्ट्रार नियुक्त भएका थिए। चार वर्षे कार्यकाल पुरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भए। र, फर्केर फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाले। २०७४ सालमा उनी सेवानिवृत्त भए ।
धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको छ। ।