शुक्रवार, फाल्गुण २ २०८१
फागुन, २ गते/काठमाडौ। त्रिभुवन विश्वविद्यालयकाले अनलाइनबाटै ट्रान्सक्रिप्ट लगाएत सबै प्रमाणपत्रको लागि फारम भर्ने व्यवस्था गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यलय बल्खुबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्ने भएको हो।
विश्वविद्यालयले लागू गर्ने नयाँ प्रणालीले परिक्षा नियन्त्रण कार्यालय धाउनुपर्ने झन्झट हटाइ सहज, प्रविधिमैत्री र समय बचत गर्ने सेवा प्रदान गर्नेछ। यो ब्यबस्था आगामी चैतदेखि लागू हुने बताइएको छ। यससंगै कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था मिलाउने पनिकाको तयारी छ ।
ट्रान्सक्रिप्ट लगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । “अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्दैछौँ, अबको दुई हप्तामा यो काम हुन्छ । त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्नेछन”, परीक्षा नियन्त्रक जोशीले भने ।
यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन । यो व्यवस्था भएमा ट्रान्सक्रिप्ट, पुनर्योग, चारित्रिक प्रमाणपत्रलगायत काम अनलाइनमार्फत हुनेछन् ।
जोशीले अनलाइन फाराम भरेका विद्यार्थीका प्रमाणपत्र पनिकाका क्षेत्रीय कार्यालयमा पठाउनेसमेत बताए । “अब विद्यार्थीले सबै प्रमाणपत्रको फाराम भर्नेदेखि प्रमाण लिनेसम्मका कामकै लागि काठमाडौँ आउनु पर्दैन”, उनले भने, “अनलाइनमार्फत फाराम प्राप्त भएपछि विद्यार्थीलाई पायक पर्ने क्षेत्रीय कार्यालयमा प्रमाणपत्र पठाउने छौँ ।”
पनिकाले यसअघि सम्बन्धित क्याम्पसबाट लब्धाङ्क पत्र (मार्कसिट) प्रिन्ट गर्ने व्यवस्था गरिसकेको छ । गत भदौबाट सबै क्षेत्रीय कार्यालयबाट उत्तरपुस्तिका परीक्षणको कामसमेत सुरु भइसकेको छ । अब विस्तारै क्षेत्रीय कार्यालयबाट नै प्रमाणपत्र प्रिन्ट गरेर विद्यार्थीलाई दिने व्यवस्थासमेत गरिने पनिकाले जनाएको छ । रासस