Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी : छ विद्यार्थी संगठन द्वारा आपत्ती

त्रिवि शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी : छ विद्यार्थी संगठन द्वारा आपत्ती

  • 694
    SHARES

  • त्रिवि शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी : छ विद्यार्थी संगठन द्वारा आपत्ती

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र विद्यार्थी कल्याणकारी परिषद् प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

    निर्वाचनका लागि आवश्यक तयारी थालिएका बेला आफूहरूसँग कुनै प्रकारको छलफल नै नगरी स्ववियु निर्वाचन कार्यविधि पारित गरिएको भन्दै पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले ताला लगाएका हुन्

    त्रिवि कार्यकारी परिषद् बैठकले कार्यविधि जारी गर्दै २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत्र ४ गते देखि स्वतः समाप्त हुने उल्लेख गरेको थियो । उनीहरूले उक्त विषय संशोधन गर्न माग गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यकक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएपश्चात् विभिन्न ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा तालाबन्दी गरिएको भन्दै त्रिविका ६ विद्यार्थी संगठनहरूले आपत्ति जनाएका हुन् ।

    त्रिवि अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्ट, अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष दिनेश ऐर, त्रिवि अनेरास्ववियू अध्यक्ष समिर गौतम, अखिल (छैटौँ) त्रिवि इन्चार्ज विवेक जिसी, अखिल (समाजवादी) त्रिवि संयोजक कविन्द्र सी र अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष विरेन्द्र नेपालीले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दीप्रति आपत्ति जनाएका हुन् ।

    त्रिविमा प्रत्येक २÷२ वर्षमा स्ववियु निर्वाचन गराउनु त्रिभुवन विश्वविद्यालयको दायित्व र जिम्मेवारी रहेको उनीहरूको भनाइ छ । विद्यार्थीहरूको वैधानिक तथा साझा संस्था स्ववियुको निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरूबाट नै निर्वाचित भएका र विद्यार्थी कल्याण परिषद् सदस्य रहेका स्ववियुका केही सभापतिले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    स्ववियु निर्वाचनका गतिविधि बिथोल्ने उद्देश्य राखेर त्रिवि सभामा विद्यार्थीबाट प्रतिनिधित्व गरेका सदस्यहरूले स्ववियु निर्वाचन नगराउने मनसाय राखेर जारी गरेका वक्तव्य समेत उनीहरूले आपत्ति जनाएका छन् ।

    विद्यार्थीहरूबाट चुनिएका प्रतिनिधि नै यस किसिमको क्रियाकलापमा उत्रनु, विद्यमान स्ववियुको पदावधि थप्ने र समयमै स्ववियु निर्वाचन नगराउने मनसाय राखेर अनेक षडयन्त्रपूर्वक स्ववियु संस्थालाई प्रतिनिधि विहीन बनाउन लागेको उनीहरूको आरोप छ ।

    त्रिविले स्ववियु निर्वाचनको मिति सार्वजनिक गरिसकेको र स्ववियु निर्वाचन सम्बन्धी कार्यविधि, २०८९ जारी भइसकेको अवस्थामा विश्वविद्यालयले तोकिएकै समयमै स्ववियु निर्वाचन सम्पन्न गराउनु विश्वविद्यालयको प्रमुख दायित्व हुने विज्ञप्तिमा भनिएको छ । यसका लागि विश्वविद्यालयका पदाधिकारीसहित सबै जिम्मेवार निकायहरूको समेत ध्यानाकर्षण गराएका हुन् ।

    स्ववियु निर्वाचन समयमै गराउनु सबै विद्यार्थी संघसंगठनको पनि जिम्मेवारी भएकाले यसलाई साझा दायित्व ठानेर स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूलाई आह्वान समेत गरेका छन् ।

    आन्दोलनरत पक्षले भने विद्यार्थी कल्याण परिषद्ले आयोजना गरेको उपकुलपति कपको आर्थिक प्रतिवेदन सार्वजनिक समेत नगरेको बताएका छन् । पटक पटक बैठक माग गर्दा पनि उपकुलपति कपमा भएको आर्थिक अनियमिततालाई ढाकछोप गर्न बैठक नै नराखेको उनीहरूको भनाइ छ । उनीहरूले स्ववियु निर्वाचनको समेत सुनिश्चितता खोजेका छन् ।

    स्ववियुको अस्तित्व जोगाउन आफ्ना माग पुरा नभएसम्म आन्दोलन स्वरूप शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको उनीहरूको भनाइ छ ।

    यसअघि त्रिवि स्ववियु अध्यक्ष श्यामराज ओझा, पुल्चोक इन्जिनियरिङ कलेज स्ववियु अध्यक्ष विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष विष्णु ढुंगेलले समेत विज्ञप्ति जारी गरेर चैत ४ गते स्वतः पद सकिने व्यवस्थाको विरोध गरेका थिए ।

    images
    मंगलवार, फाल्गुण ६ २०८१०५:५३:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार