सोमवार, फाल्गुण १२ २०८१
फागुन, १२ गते काठमाडौ। सामुदायिक विद्यालयको समग्र गुणस्तर बढाउने योजनामा सहित काठमाडौ महानगरपालिकाले प्रधानाध्यापकसंग अन्तरक्रिया गरेको छ। आइतबार शैक्षिक गुणस्तर विकासका लागि महानगरपालिकाका प्रमुख र उप्रमुखसँग शिक्षा तथा स्वास्थ्य समितिका संयोजक र प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेको हो।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा विद्यालयको नतिजा सुधार, दरबन्दी मिलान, पूर्वाधार मूल्यांकन, ICT मूल्यांकन, शिक्षक तलब भुक्तानी, तालिम, पुरस्कार, ‘Book Free Friday,’ ‘Skills in Education’ जस्ता महत्वपूर्ण विषयहरूमा चर्चा भएको छ ।
अन्तरक्रियामा प्रमुख बालेन्द्र शाह (बालेन)ले कुनै सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण धेरै हुनु र कुनैमा कम हुनुले विद्यालयको स्तर निर्धारण हुने बताएका छन् । ‘विद्यालयहरुमा विद्यार्थीहरुको भर्ना चाप धेरै हुनु विद्यालयको स्तर मापन गर्ने सूचक हो । यसैले आफ्नो स्तरलाई औसत विन्दुभन्दा माथि लैजान प्रयास गर्नुपर्छ । बालेनले भने, 'औसतमा भएका विद्यालयले स्तर उन्नतिमा काम गर्नुपर्छ।' शिक्षकहरुको क्षमता विकास गरेर पुस्तकरहित शुक्रबारलाई दिगो बनाउने योजना रहेको उनको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रम पश्चात् काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक र निमित्त प्रधानाध्यापहरुले महानगरपालिकाले शैक्षिक वातावरण सुधार तथा प्रोत्साहनका लागि नविनतम तथा रचनात्मक कार्यक्रममा गरेको लगानीबाट आफूहरु कर्मप्रति थप उत्साहित भएको बताएका छन्।
विद्यालय शिक्षाको स्तर उन्नतिका लाग अहिलेसम्म गरिएका काम, ती कामबाट प्राप्त नतिजा र आगामी योजनाका विषयमा आइतबार महानगरपालिकाका प्रमुख र उपप्रमुखसँग अन्तरक्रियात्मक संवाद गर्दै उनिहरुले धारणा राखेका थिए । सामुदायिक विद्यालयहरुप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो क्रममा हुनु यसको ठोस उपलब्धी रहेको बताउँदै यसलाई विकास र विस्तार गर्न महानगरपालिकाको नेतृत्वमा प्रोत्साहित रहेको उनिहरुको भनाई थियो । साथै संघ सरकारसँग विद्यालयले भन्नुपर्ने कुरा महानगरपालिकाले भनिदेओस् । हामी महानगरपालिकाको नेतृत्वप्रति पूर्ण विश्वस्त छौँ । उनिहरुको साझा मत थियो ।
कार्यक्रममा शिक्षा सुधारका पहलहरू, विद्यालय व्यवस्थापनको सुदृढीकरण, र शिक्षकहरूको विकास जस्ता प्रमुख विषयहरूमा विचार विमर्श गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयहरुमा पनि धेरै राम्रा, मध्यम र सुधार गर्नै पर्ने विद्यालय भएको उल्लेख गर्दै राम्रा अगाडि लगाएर आफू पनि राम्रो छु भन्नुभन्दा आफैँले राम्रो गरेर नतिजा देखाउनुपर्नेमा जोड दिइन । विद्यालयलाई प्रणालीबाट स्वचालित बनाउनुपर्छ । अहिले व्यवस्थापन गर्ने प्रधानाध्यापक वा अन्य सदस्य भोलि पदमा नरहन सक्नुहुन्छ । तर, प्रणाली बसेपछि राम्रा पक्ष स्वतः सञ्चालन हुँदै जान्छन्, उनले भनिन्।
शैक्षिक सुधारका कार्यक्रमको आधारका विषयमा कुरा गर्दै उनले, पहुँचका आधारमा भन्दा आवश्यकता र तथ्य प्रमाणका आधारमा कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गरिन । विद्यालयको वस्तुस्थिति (शिक्षक, विद्यार्थी उपस्थिति, हाजिरी, दिवा खाजा, क्रियाकलाप) केन्द्रबाट निगरानी भइरहेको उको भनाई थियो ।
यसैगरी शिक्षक अवलोकन भ्रमणका लागि आन्तरिक विद्यालयहरुका राम्रा अभ्यास हेर्न महानगरपालिकाभित्रै भएका विद्यालयहरुको अभ्यास अवलोकन गर्न सकिने बताउँदै काठमाडौँ बाहिर गएर मात्र अवलोकन भ्रमण हुन्छ भन्ने मानसिकतामा परिवर्तन गर्न आवश्यक रहेको उनको भनाई थियो ।
अन्तरक्रियामा शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले, पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गतका सिर्जनात्मक सिकाइ र शिक्षामा सिप कार्यक्रम, रचनात्मक विद्यालय, हरित विद्यालय, कक्षा १० को नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, नियमित कोचिङ् कक्षा, विषयगत शिक्षकको क्षमता विकास तालिम, अन्य कक्षाका लागि एकीकृत सिकाइका लागि शिक्षक तालिम, इसिडी कक्षा सहजकर्ता, नेपाल भाषाका सबै शिक्षकहरुको क्षमता विकास तालिमबाट देखिने नतिजा आएको बताए ।
उनका अनुसार कक्षा ४ देखि ८ सम्म ६१७ वटा उपसमूह बनाएर पुस्तकरहित शुक्रबारअन्तर्गत सिर्जनात्मक सिकाइ सञ्चालन भइरहेको छ । कक्षा ९ मा अध्ययनरत ४ हजार ९६३ जना विद्यार्थीलाई सिपमूलक १० वटा क्षेत्रमा १७७ वटा उपसमूह गठन गरेर कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्यक्रमलाई दिगो र संस्थागत बनाउन ३७ वटा प्रयोगशाला निर्माण र सबै उपसमूहहरुको कार्यक्रम सञ्चालन मार्गदर्शन तयारी गरिएको छ । यसमा काम गर्ने फोकल शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ । रचनात्मक विद्यालय कार्यक्रमअन्तर्गत आयोजना गर्न लागिएको खेल प्रतियोगितामा भाग लिन इच्छा गरेका १६ हजार विद्यार्थीबाट छनोट गरेर ८ हजार ६२३ जनालाई प्रशिक्षणको तयारी भएको छ ।
प्रारम्भिक बाल विकास कक्षाका लागि आन्तरिकत स्रोततर्फ स्वीकृत सहजकर्ता र आया नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाल भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन सम्बन्धि काम भएको छ । आइटी अडिट गरेर विद्यालयहरुमा स्मार्ट बोर्ड प्रदान गर्ने प्रक्रिया थालनी गर्न लागिएको छ । टिचर्स कलेज प्रोग्रामका लागि काठमाडौँ विश्वविद्यालयसँगै त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गर्ने प्रक्रिया थालिएको छ ।
यसरी सञ्चालन गरिएका कार्यक्रमबाट विद्यार्थीको नतिजामा क्रमिक रुपमा सुधार भएको छ । विद्यालयहरुको स्वच्छता र सरसफाइमा सुधार भएको छ । शिक्षकहरुको क्षमता विकास भएर शिक्षण क्रियाकलापमा सूचना प्रविधिको प्रयोग वढेको छ । विद्यालयले महानगरबाट सञ्चालित कार्यक्रममा अपनत्व लिएका छन् । प्रारम्भिक बाल बिकास केन्द्रको मापदण्डअनुसारका पूर्वाधार विकास हुँदै गएको छ । संस्थागत विद्यालयको नियमन प्रभावकारितामा अभिवृद्धि भएको छ ।
सामुदायिक विद्यालयप्रतिको अभिभावक र विद्यार्थीको आकर्षण बढ्नु सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय, १४ वटा वैकल्पिक विद्यालय, ५२४ वटा संस्थागत विद्यालय र २८ वटा सामुदायिक सिकाइ केन्द्र छन् । सामुदायिक विद्यालयहरुमा ६१ हजार ३२९ जना विद्यार्थी अध्ययनरत छन् । यस्तै संस्थागत विद्यालयहरुमा २ लाख १० हजार ९३४ जना विद्यार्थी अध्ययनरत छन् । यसरी हेर्दा महानगरपालिकाभित्र २ लाख ७२ हजार २६३ जना विद्यार्थीहरु विद्यालय शिक्षामा रहेका छन् । #काठमाडौं महानगरपालिका